काठमाडौं,६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह आज भारत जाँदै हुनुहुन्छ । उहाँको आज त्यहाँका विदेशमन्त्रिसँग र भोली प्रधानमन्त्रिसँग वार्ता हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपाल एयरलाइन्सको नियमित उडानबाट उहाँ आज दिउँसो १ः४५ बजे भारत प्रस्थानगर्ने र दिउँसो ३ः४५ बजे नयाँ दिल्ली पुग्ने कार्यक्रम छ । भ्रमण टोलीमा ३४ सदस्य रहनेछन् । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुने भनिएको छ । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा भोली सोमबार प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । आज साँझ ६ बजे प्रधानमन्त्रि वालेन्द्रले नयाँदिल्लीस्थित होटेल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्तागर्ने तालिका छ । भोली सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री वालेन्द्रको औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम छ ।

त्यसपछि उहाँ श्रद्धाञ्जली दिन राजघाट पुग्नुहुने छ । भोली सोमबार मध्यान्ह १२.२५ मा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ । भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरुको उद्घाटन र नयाँ परियाजनाको शिलान्यासगर्ने कार्यक्रम रहेको बताइएको छ । भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धिगर्ने विषयमा छलफल हुनेछ । त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरु (एमओयू) पनि आदानप्रदान गरिनेछन् । त्यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य अझ विस्तार हुनेछ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ । नेपालमा भारतीय लगानी आकर्षितगर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरु सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थपलगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरु प्रस्तुत गरिनेछ । प्रधानमन्त्री वालेन्द्रले भोली सोमबार दिउँसो ३.१५ बजे राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्तागर्ने र अपरान्ह ४.५० मा नयाँ दिल्लीबाट स्वदेश प्रस्थानगर्ने कार्यतालिका रहेको छ ।