काठमाडौं,३१ साउन । नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङले नेपालमा कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव नभएको बताउनुभएको छ । पुष्पलाल मित्रता केन्द्रद्वारा ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा हिजो सुर्खेतको वीरेन्द्रनगरमा आयोजित वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका विषयक विचारगोष्ठीमा नेता गुरुङले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले साम्राज्यवादी आक्रमणको निशाना अहिले तीन दल रहेको बताउँदै कम्युनिष्ट पार्टीहरुमा देखिएको टुटफुटका कारण मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभएको थियो । उहाँले नेपालका सन्दर्भमा कम्युनिष्ट एकता अपरिहार्य शर्त भएको दाबि पनि गर्नुभएको थियो ।
उहाँले अहिले कार्यगत एकता भएको छ । अब ढिलोचाँडो एमालेसँग पार्टी एकता हुन्छ । कम्युनिष्ट एकताबिना राष्ट्रनै नरहने खतरामा रहेका कारण एकता अनिवार्य भएको बताउनुभएको थियो । बृहत् शान्ति सम्झौताकर्ता दल एक भएर राष्ट्रियस्तरमा साम्राव्यवादका विरुद्ध लड्नुपर्नेमा कम्युनिष्ट आफैँ कोही सत्ता र कोही बाहिर रहेर एकापसका लडेका कारण गत भदौ २३ र २४ गते घटना सृजना भएको नेता गुरुङको भनाइ थियो ।
नेपाली कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले पद, शक्ति र सत्ता प्राप्ति नभई राष्ट्र तथा राष्ट्रियताको रक्षाका लागि एकता आवश्यक भएको बताउनुभएको थियो । नेकपा (एमाले) सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, नेकपा क्रान्तिकारी पार्टीका नेता निरक केसी, नेकपाका प्रदेश संयोजक विमला केसीलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।