
काठमाडौं, ३१ साउन । खाना पकाउने ग्यासमा पनि राजनीति शुरुभएको छभने ग्यास किन्न पनि नागरिकता र राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । यसैक्रममा आज सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण हुँदैछ । नेपाल आयल निगमको समन्वयमा उक्त बिक्री गरिने भएको हो । ग्यास खरिदगर्नका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने भनिएको छ । ग्यास बिक्री आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । यसका लागि टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारको जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र तोकिएका छन् ।
नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि बिभिन्न ब्रान्डका छ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्रीवितरण गरेको छ । निगमकाअनुसार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो । वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ । निगमले आइतबार काठमाडौं उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्रीवितरण गर्ने जनाएको छ । निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् ।
त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र भानु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया; नयाँबजार÷नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ । चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटिसी ब्रान्डका ग्यास बिक्रीवितरण गरिने निगमले जनाएको छ ।