
काठमाडौं,३१ साउन । बाढी र पहिरोका कारण बिभिन्न राजमार्गहरु अबरुद्ध भएका छन् । नेपाल प्रहरीको आइतबार बिहान ५ बजेको तथ्यांकअनुसार, विभिन्न सडकहरु बाढी र पहिरोका कारण अवरुद्ध भएका हुन् । चितवनस्थित पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । गएराति १०ः२५ बजे चितवनको इच्छाकामना–५, सिमलधारास्थित पृथ्वीराजमार्ग (सडक बिस्तारभइ रहेको स्थानमा) सडक माथिबाट रुखसहितको सुखा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको हो । रोल्पाको भालुवाङ–लिवाङ सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । गएराति ९ः१५ मा सुनिलस्मृति–४ कागडाँडास्थित भालुबाङ–लिबाङ सडकखण्डमा पहिरो आइ बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।
संखुवासभाको सिरेक डाँडास्थित कोशी राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध भएको छ । गएरातिको वर्षाको कारण भोटखोला–३ सिरेकडाँडा स्थित कोशी राजमार्ग सडक खण्डअन्तर्गत खाँदबारी–किमाथांका सडक खण्डमा अन्दाजी १० मिटर सडक भासिएर पूर्णरुपमा अवरोध भएको छ । हिजो पहिरो जाँदा बेसिशहर–मनाङ सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । गएराति अन्दाजी साढे १० बजे मस्र्याङदी–४ मा पहिरो आई बाटो पूर्णरुपमा अवरुद्ध भएको हो । हिजो शनिबार सडक माथिबाट ढुंगासहितको लेदो खस्दा बेनी–जोमसोम सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । गएराति ८ः३० बजे थासाङ–४ कैकु खोलास्थित बेनी–जोमसोम सडक खण्डमा ढुंगासहितको लेदो पहिरो खसी बाटो पूर्णरुपमा अवरुद्ध भएको हो । प्रहरीले बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँशीमा बेलुका १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।
मकवानपुर कान्तिपथ वर्षातको कारण सबै किसिमका सवारी साधनहरुको रातिको समयमा आवतजावत रोकलगाइएको छ । सो सडकमा बेलुका १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारीसाधनको आवतजावत रोकलगाइएको छ । इलामको राजदुवालीस्थित मेची राजमार्गमा वर्षाको कारण बाटो हिलोभई सवारी साधन आवत–जावत गर्ननसक्ने भएकोले उक्त सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको (उक्त स्थानमा अर्को कल्पिक बाटो रहेको) छ । सिन्धुपाल्चोक अरनिको राजमार्गस्थित भोटेकोशी–२ कोदारी स्थित अरनिको राजमार्गमा ईकु पहिरो तथा लिपिङस्थित अरनिको राजमार्गमा सडक भासिई बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । रसुवा पासाङल्हामु सडक खण्ड, रुकुमपश्चिमस्थित भेरी करिडोर पनि अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।