काठमाडौं,३१ साउन । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा आज सकिँदै छभने सो पार्टीको सम्मेलनले देशमा फेरी मध्यावधी निर्वाचन हुनसक्ने निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसका नेता तथा सम्मेलनका संयोजक डा. शशांक कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले ठोस र जनपक्षीय कामगर्न नसकेकोहुँदा मुलुक फेरी मध्यावधि निर्वाचनतर्फ जान सक्ने बताउनुभएको हो । हिजो शनिबार सम्मेलनस्थलमा सञ्चारकर्मीसँग कुरागर्दै डा. कोइरालाले बहुमतको समर्थन प्राप्त सरकार भएपनि अहिलेसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभएको थियो । गत शुक्रबारदेखि सुकेधारास्थित मिराकल पार्टी प्यालेस शुरुभएको भेला बीचैमा राष्ट्रिय सम्मेलनमा परिणत भएको थियो ।
आजको कार्यक्रममा बिहान ११ः०० बजेदेखि शुरुहुँदै छ । प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माकाअनुसार जारी भेलामा बिभिन्न प्रतिवेदनहरु प्रस्तुत भएका छन । जसमा आज सहभागी प्रतिनिधिहरुले धारणा राखिसके पछि समापन हुने कार्यक्रम छ । भेलाको सभापतित्व डा. शशांक कोइरालाले गरिरहनुभएको छ । सर्वोच्च अदालतले हालैमात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकनगर्ने अनुमति दिएपछि देउवा समूह पछिल्लो समय झनै उत्साहित बनेको छ । भेलामा उपस्थित प्रतिनिधिलाई तीन मिनेटको समय दिइएको छभने सोही भेलाले कम्तिमा १४ वटा उपसमितिहरुको चयनगर्ने जनाइएको छ । राष्ट्रिय सम्मेलनमा बिभिन्न पाँच प्रतिवेदनमाथि छलफल भएको छ ।
हिजो शनिबार शीर्ष नेताहरु विमलेन्द्र निधिले राजनीतिक, डा प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । नेता निधिले आफ्नो प्रतिवेदन पेस गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गर्नुभएको थियो । प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माकाअनुसार सबै प्रतिवेदनमाथि प्रदेशगतरुपमा छलफल भएको थियो । प्रदेशगत धारणा र प्रस्तुति जारीरहेकाले बाँकी आजको सम्मेलनमा छलफल हुने छ । गत शुक्रबार पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचार सकेर पाँच महिनापछि गत बिहीबारमात्रै स्वदेश फर्कनुभएको थियो ।