काठमाडौं,३१ साउन । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पार्टीका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशनमा जाने निर्णय गरेको छ । सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित भेलाको समापन सत्रमा काठमाडौंमा उपलब्ध अधिकांश नेता तथा कार्यकर्ताहरको उपस्थिति रहेको थियो । तीन दिनसम्म चलेको सम्मेलनमा कांग्रेसको आगामी राजनीतिक दिशा, संगठन तथा समसामयिक विषयमा छलफल भएको थियो । सम्मेलनले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ । भेलाले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्नगर्ने र त्यसको नेतृत्व सभापति देउवाले नै गर्ने निर्णय पनि गरेको छ ।
देउवाको नेतृत्वमा पार्टीलाई एकतावद्ध बनाई महाधिवेशन सफलपार्ने दृढता व्यक्तगर्दै महाधिवेशनसम्मका पार्टीका नियमित गतिविधिहरु सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरुले संयोजन गर्ने तयगरिएको छ । राजनीतिक प्रस्तावअन्तर्गत सम्मेलनले ०३३ सालमा वीपी कोईरालाले अवलम्बन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई वर्तमान सन्दर्भमा पनि सान्दर्भिक ठहर गरेको छ । मुलुकको विद्यमान जटिल परिस्थितिलाई दृष्टिगतगर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिहरुसँग निरन्तर सम्वाद र सहकार्यगर्ने नीति काँग्रेसले लिएको बताइएको छ । बैठकका निर्णयहरु सुनाउँदै नेता दीपक कुइँकलले भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अंगकारुपमा स्वीकार गरेको जानकारी दिनुभएको छ ।
०७२ को संविधानका सम्बन्धमा जनअपेक्षा सम्बोधनगर्न आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार नै सम्बन्धित पक्षहरुसँग सम्वादगरी निकास खोजिने जनाइएको छ । भेलामा प्राप्त विभिन्न सुझाव र प्रस्तावहरुलाई परिमार्जनसहित अन्तिम रुप दिने जिम्मेवारी नेता नारायणप्रकाश साउनको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ । उक्त समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य रहनुभएको छभने मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेलले सहयोगीकारुपमा कार्यगर्ने भनिएको छ ।