
काठमाडौं,३१ साउन । बिभिन्न पत्रकार संघ संगठनहरुले चर्चित पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहागर्न मागगर्नेक्रम जारी छ । यसैक्रममा नेकपा (मसाल) निकट प्रगतिशील पत्रकार संघ, नेपालले जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । संघका अध्यक्ष श्यामलाल पोखरेलले जारी गर्नुभएको एक प्रेस वक्तव्यमा कुनैपनि समाचार सामग्रीमा चित्तनबुझे त्यसविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिनसकिने कानूनी व्यवस्था रहेको स्मरण गराइएको छ । काउन्सिलले यस खालका काम निरन्तर गरिरहेको अवस्थामा समाचारसँग सम्बन्धित विषयलाई लिएर फौजदारी आरोप लगाउने उद्देश्यले प्रहरीले रातारात पक्राउ गर्नेसम्मको कार्य गलत भएको संघको ठहर छ ।
समाचारमा चित्तनबुझेको अवस्थामा प्रेस काउन्सिलमा उजुरीगर्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई पक्राउगर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको संघले जनाएको छ । त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ, नेपालले प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष, आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचारसँग सम्बन्धित विषयमा पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । महासचिव करन ताम्राकारले जारीगरेको प्रेस विज्ञप्तिमा श्रेष्ठलाई पक्राउ गरिएको, आस्था मिडिया तथा उहाँको निवासमा प्रहरीले खानतलासी गरेको र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
समाचार प्रकाशन तथा सम्पादकीय विषयलाई लिएर पत्रकारलाई पक्राउगर्ने, सञ्चारगृह तथा पत्रकारको निवासमा खानतलासीगर्ने र समाचार लेखन तथा सम्पादनमा प्रयोगहुने कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री नियन्त्रणमा लिने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको व्यावसायिक स्वतन्त्रता र समाचार श्रोतको गोपनीयतामाथि गम्भीर प्रश्न खडागरेको संघले जनाएको छ । पत्रकारहरुले उक्त गिरफ्तारी बिरुद्ध आन्दोलन जारी राखेका छन् । श्रेष्ठका बारेमा परेको रिटमा भोली सोमबार सुनुवाई हुने बताइएको छ ।