काठमाडौं,३० भदौ । चीनको राष्ट्रिय सुरक्षामा एआईबाट जोखिम बढेको खुलाशा भएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) ले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिनुभएको छ । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार उहाँले विदेशी शक्तिहरुले यस प्रविधिलाई सामाजिक व्यवस्थामाथि खतरा पार्न प्रयोगगर्न सक्ने बताउनुभएको छ । गुप्तचर सेवा तथा सुरक्षामन्त्री चेन यिसिनले अनलाइनमा प्रकाशित एक लेखमा प्रतिद्वन्दी शक्तिले जेनेरेटिभ एआई प्रविधिहरुको दुरुपयोगगरी राजनीतिक अफवाहहरु फैलाउने र हानिकारक जानकारी फैलाउने काम गरिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले चीनविरुद्ध उनीहरुले सार्वजनिक मत युद्ध र संज्ञानात्मक युद्ध शुरु गर्छन्, जसले हाम्रो राजनीतिक सुरक्षा, संस्थागत सुरक्षा र वैचारिक सुरक्षालाई प्रत्यक्षरुपमा खतरामा पार्ने बताउनु भएको छ । उक्त चेतावनी चिनियाँ राष्ट्रपति सी जिनपिङ यस महिना वाशिंगटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाटगर्न अमेरिका जान लागेका बेला बाहिर आएको हो । प्रविधिको बढी निगरानीका लागि आवाज उठिरहेका कारण एआई प्रशासन र सुरक्षा उनीहरुको छलफलको हिस्सा हुने अपेक्षा गरिएको छ ।

अमेरिकी प्रविधि अधिकारीहरुले पनि एआईको प्रगतिलाई सुस्त बनाउनुपर्ने आह्वान गरेका छन् । सुपरइन्टेलिजेन्ट कम्प्युटर प्रणालीहरुको जोखिमबारे चिन्ता बढिरहेका समय एन्थ्रोपिकका कार्यकारी प्रमुख डारियो अमोदेईले पनि एआई प्रविधि विकासको लापरवाहपूर्ण गतिबारे चेतावनी दिनुभएको थियो ।