काठमाडौं,३० भदौ । गत १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाका बिभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिकरुपमा क्षति पुगेको थाहा भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा २५ करोड २५ लाख बराबरको क्षति भएको छ । बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
विभागका महानिर्देशक कमलराज श्रेष्ठकाअनुसार बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पु¥याएको छ । अधिकांश आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूललाइन, शाखा पाइपलाइन तथा खानेपानीका धारासमेत बाढीले बगाएको छ । उहाँकाअनुसार गोसाइिँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्णरुपमा क्षतिभएका छन् । ती आयोजनामा भएको क्षतिका कारण मात्रै करिब ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन् ।
त्यसैगरी उत्तरगया गाउँपालिकाका वडानं. ३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा बाढीले पूर्णरुपमा क्षति पु¥याएको विभागले जनाएको छ । कैदलटार, सिम्ले मुहान र बाँसथलसिमलगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीका धारामा क्षति पुगेको बताइएको छ ।