काठमाडौं,३० भदौ । नेपाली कांग्रेसको देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने भएको छ । सो पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म पार्टीको छुट्टै १५औँ महाधिवेशनगर्ने भएको छ । सो पक्षले हिजो काठमाडौंमा एक पत्रकार सम्मेलनगरी गगन थापा पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई बेवास्ता गरेकोभन्दै आगामी मंसिरमा १५ औँ महाधिवेशन थाल्ने जनाएको थियो । उक्त महाधिवेशन तयारी समितिका संयोजक प्रा डा शशांक कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी असोज १५ गतेदेखि वडा तहको अधिवेशन शुरुगर्ने जानकारी दिनुभएको थियो ।

संयोजक डा कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रुपमा घोषणा गरिएको कार्यतालिका स्थगनगरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रुपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न भन्नुभएको थियो । उहाँले पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानूनी र राजनीतिक दुवैपक्षको सम्मान हुनेगरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभएको थियो ।

गगन थापा पक्षले गत आइतबारमात्रै कार्यसम्पादन समितिको बैठकबाट निर्णयगरी आगामी असोज ३ गतेदेखि वडा अधिवेशन थाल्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशनगर्ने तालिका सार्वजनिक गरेको थियो ।