काठमाडौं,३० भदौ । सत्तारुढ दल रास्वपाको नाममा ठगीगर्दै हिँड्नेहरु फेलापर्न थालेका छन् । यसैक्रममा आफूलाई रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्यभन्दै बिभिन्न पदको परिचय दुरुपयोगगर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेमा झापाको हल्दिबारी–१ का सुजन विश्वकर्मा रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले आफू बिभिन्न उच्च राजनीतिक तथा सरकारी पदमा रहेको झूटो दाबीगर्दै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेशगरी अनुचित दबाब तथा धाकधम्की दिँदैआएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निजले दाबीगरेका कुनै पनि पद तथा जिम्मेवारी वास्तविक नभएको खुलेको थियो । निजलाई नियन्त्रणमा लिएर झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरी थपअनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । साथै, विश्वकर्माले यस्तै झूटो परिचय दिएर कसैबाट नाजायज लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पु¥याएको भए तत्काल जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्कगर्न प्रहरीले सर्वसाधारणमा अनुरोध पनि गरेको छ ।