काठमाडौं,६ मंसिर । जलवायु वार्तामा विकसित र विकासशील राष्ट्रबीच मतभेद देखिएको छभने टर्किएमा गरिएको नेपाल लगायतका देशको खर्च डुबेको छ । नेपालबाट झण्डै आधादर्जन मन्त्रिनै सो सम्मेलनमा पुगेका थिए । तेल, ग्यास र कोइलाको प्रयोग घटाउने तथा अन्त्यगर्ने विषयमा सदस्य राष्ट्रहरुबीच सहमति जुट्न नसक्दा टर्कीएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) निर्धारित समयभन्दा लम्बिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । करिब २०० देशका प्रतिनिधि सहभागी दुई सातादेखिको वार्ता गत शुक्रबार सम्पन्न हुनुपर्ने भएपनि ऊर्जा नीति, वैज्ञानिक अनुसन्धान र जलवायु वित्तसम्बन्धी मतभेदका कारण शनिबारसम्म लम्बिएको हो ।

सम्मेलनको अध्यक्षता गरिरहेको अस्ट्रेलियाले सहमति जुटाउन तेस्रो मस्यौदा तयार पार्ने प्रयास गरिरहेको छ । सम्मेलन अध्यक्ष तथा टर्कीएका वातावरणमन्त्री मुरात कुरुमले सहमति नजिक पुगे पनि अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताउनुभएको छ । यसअघि सार्वजनिक गरिएको पहिलो मस्यौदामा तेल, ग्यास र कोइलाको प्रयोग छिटो चरणबद्ध रुपमा अन्त्य गर्नुपर्ने प्रस्ताव समावेश थियो । गत बिहीबार सार्वजनिक दोस्रो मस्यौदाबाट यससम्बन्धी सबै उल्लेख हटाइएपछि विवाद चर्किएको हो ।

युरोपेली संघले संशोधित मस्यौदाले जलवायु सम्मेलनलाई नै तेल तथा ग्यास सम्मेलनमा परिणतगर्ने जोखिम रहेको टिप्पणी गरेको छ । फ्रान्स, पानामा र सोलोमन टापुलगायत करिब एक दर्जन देशले सम्झौतामा यी इन्धनको प्रयोगबाट बाहिरिने स्पष्ट प्रतिबद्धता समावेशगर्न माग गरेका छन् ।