काठमाडौं,११ भदौ । नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षका सभापति शेरबहादुर देउवा र सोही समूहका कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले गगन थापा समूहले गर्न लागेको १५ औँ महाधिवेशन रोक्न माग गरिएका पूरक रिट निवेदन आज सर्वोच्च अदालतको न्यायाधीश त्रय नहकुल सुवेदी, महेश शर्मा पौड्याल र मेघराज पोखरेलको इजलासमा छलफल हुने भएको छ । देउवा र खड्काले पूरक रिट दायर गर्नुभएको थियो । गत सोमबार दायर गरिएका पूरक रिट सर्वोच्चले मंगलबार दर्ता गरेको थियो ।

रिटमा महाधिवेशनको प्रक्रिया रोक्न उत्प्रेषण आदेशको माग गरिएको छ । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ गते अद्यावधिक गरिदिएको थियो । त्यसविरुद्ध देउवा र खड्का सर्वोच्चमा जानुभएको थियो । सर्वोच्चले गत वैशाख ४ गते निर्वाचन आयोगको फैसलालाई सदर गरेको थियो । त्यसविरुद्ध देउवा र खड्काले पुनरावलोकनका लागि दिनुभएको अनुमति सर्वोच्चले स्वीकारेकाले थापा नेतृत्वको समितिले शुरु गरेको प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्काले छुट्टाछुट्टै निवेदन दिनुभएको बताइएको थियो ।