काठमाडौं, ११ भदौ । संसदमा रहेका प्रमुख दलका प्रतिनिधिबीच सिंहदरबारमा भोटेकोशीमा आएको बाढीको बितण्डाबारे छलफल भैरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक रास्वपाकै संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, एमालेका महासचिव शंकर पोखरेल, जसपाका नेता महन्थ ठाकुर, जसपाका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, संसदीय दल नेता ज्ञानेन्द्र शाही, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायत उपस्थित हुनुहुन्छ ।

बैठकमा भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार, राहत वितरण र आगामी पुनस्र्थापनाका विषयमा छलफल भैरहेको छ । बाढीका कारण रसुवालगायतका बिभिन्न जिल्लामा ठूलो क्षति पुगेपछि प्रभावितको उद्धार तथा बेपत्ताको खोजीलाई प्रभावकारी बनाउने विषय बैठकको प्रमुख एजेन्डा रहेको छ ।

त्यसैगरी बाढीबाट विस्थापित तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सरकार र राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । बैठकमा अधिकांश दलले बाढी पीडितलाई सहयोग गर्ने र उद्धारमा परिचालित हुने प्रतिबद्धता जनाएका छन् ।