काठमाडौं, ११ भदौ । नेपाल र चीनबीच मौसमी विवरण आदानप्रदान हुने भएको छ । रसुवाको भोटेकोशीहुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढी र प्रभावित क्षेत्रको मौसमी अवस्थाकाबारेमा चिनियाँ पक्षसँग भएको छलफलकाक्रममा मौसमी विवरण आदान–प्रदान गर्ने विषयमा सहकार्यगर्ने सहमति भएको हो । नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेतको उपस्थितिमा जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम विज्ञान निकाय (सिएमए) का अधिकारीबीच भएको भर्चुअल बैठकमा मौसम गतिविधि र पूर्वानुमानका विषयमा सहकार्यगर्ने सहमति भएको विभागले जनाएको छ ।
विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले भोटेकोशी नदीमा एक्कासि आएको बाढी तथा मौसमी अवस्था र पूर्वानुमानसहित क्षतिका बारेमा छलफल भएको बताउँदै चिनियाँ पक्षले प्रभावित क्षेत्रको मौसमी विवरणका सम्बन्धमा सहकार्यगर्ने सहमति जनाएको बताउनु भएको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले नेपाल र चीन दुवैतर्फको प्रभावित क्षेत्रमा भारी वर्षा नभएको जानकारी दिनुहुँदै हिमताल विष्फोट, पहिरो वा अन्य कुनै कारणले नदी थुनिएर बाढी आएको हुनसक्ने सम्भावना रहे पनि त्यसको आधिकारिक पुष्ट्याइ नभइसकेकाले दुवैतर्फको संलग्नतामा यस विषयमा थप अध्ययन हुन आवश्यक रहेको बताउनु भएको छ ।
विभागका अनुसार छलफलकाक्रममा चिनियाँ पक्षबाट तिब्बततर्फको भू–भागमा ठूलो वर्षा नभएको र वर्षाका कारण बाढी आएकोभन्ने पर्याप्त आधार नभएको प्रारम्भिक धारणा आएको छ । चीनतर्फको भू–भागमा मौसमजन्य कुनै जोखिम वा प्रभाव देखिएमा चिनियाँपक्षले नेपाललाई तत्काल जानकारी गराउने सहमति भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ ।