काठमाडौं, ११ भदौ । आज युरोपमा तैनाथ अमेरिकी सेनाको समीक्षाबारे नेटोका सहयोगी राष्ट्रका अधिकारीसँग अमेरिकी उपरक्षामन्त्री एल्ब्रिज कोल्बीले छलफल गर्नुहुने भएको छ । युरोपबाट अमेरिकी सेना फिर्ता हुनसक्ने आशंकाबीच उहाँले यस्तो छलफलगर्न लाग्नुभएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । कोल्बीले ब्रसेल्सस्थित ३२ सदस्यीय नेटोको मुख्यालयमा सदस्य राष्ट्रका राजदूतसँग भेटवार्ता गर्नुहुने भनिएको छ ।
भनिन्छ संयुक्त राज्य अमेरिकाले आफ्नो सैन्य तैनाथीको समीक्षाका क्रममा सहयोगी राष्ट्रसँग परामर्श गरिरहेको छ । वाशिंटनले युरोपेली राष्ट्रलाई महादेशको परम्परागत सुरक्षाको प्रमुख जिम्मेवारी लिन आग्रहगर्दै गत जुलाईमा अमेरिकी सैन्य तैनाथीको छमहिनाको समीक्षा शुरुगरेको भनिएको थियो । पेन्टागनका प्रमुख पिट हेगसेथले इरानसँगको युद्धमा युरोपेली राष्ट्रको प्रतिक्रियाप्रति अमेरिकी असन्तुष्टिबीच यो समीक्षा घोषणा गर्नुभएको थियो ।
युद्धको शुरुवातमा अमेरिकी सेनाले युरोपस्थित आफ्ना सैन्य आधार प्रयोगगर्न लगाइएको प्रतिबन्धप्रति पनि अमेरिकाले असन्तुष्टि जनाएको थियो । भनिन्छ अमेरिकाले सदस्य राष्ट्रको रक्षा खर्च तथा अमेरिकी सेनाले प्रयोग गरिरहेका सैन्य आधारबारे जानकारी लिइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लामो समयदेखि युरोपेली राष्ट्रलाई रक्षा क्षेत्रमा बढी खर्चगर्न दबाब दिँदैआएको छ ।