काठमाडौं,६ मंसिर । सुदूरपश्चिमको धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौंको आयोजनामा सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता तथा सामाजिक विविधतालाई राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आगामी २६ र २७ गते धनगढीमा साहित्य महोत्सवको आयोजना गरिन लागिएको हालै आयोजित एक पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा महोत्सवका केन्द्रीय संयोजक दीपक सापकोटाले जानकारी दिनुभएको हो । कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा सञ्चालन हुने महोत्सव क्याम्पस परिसरमा आयोजना गरिने छ ।

महोत्सवमा सुदूरपश्चिमको सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएका विभिन्न विषयमा अन्तरसंवाद र विमर्श गरिने संयोजक सापकोटाले बताउनुभएको छ । त्यस्तै साहित्य र सिर्जना, पर्यापर्यटन, शिक्षा, सेती–महाकालीका कथा, प्रदेशको भूगोल, इतिहास, समाज र संस्कृतिलगायत विषयमा छलफल हुनेछ । महोत्सवले प्रदेशका सांस्कृतिक सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमासमेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवमा डेढदर्जनभन्दा बढी विषयगत सत्र सञ्चालन हुनेछन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कवि तथा गजलकारको सहभागितामा कविता र गजल साँझ आयोजना गरिनेछ । हुड्केली, छलिया, होरी, देउडा र सखियालगायतका मौलिक सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । साहित्य लेखन कार्यशाला, पुस्तक विमोचन तथा साहित्य, इतिहास र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुतिका कार्यक्रम पनि महोत्सवका आकर्षण रहनेछन् ।