काठमाडौं, २२ असोज । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपालका बामपन्थीहरु एकताबद्ध हुन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ । केही सञ्चार माध्यमहरुसँगको कुराकानीमा उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले शीर्ष नेताहरुबीचको पदीय भागबन्डा र अंकमाललेमात्र कम्युनिष्ट आन्दोलन एकताबद्ध हुननसक्ने दाबि पनि गर्नुभएको छ । उहाँले विखण्डित वामपन्थी शक्तिहरुलाई सैद्धान्तिक धरातलमा पुनर्गठनगर्न आफूले समाजवादी जागरण अभियान शुरु गरेको बताउनु भएको छ । उहाँले आन्दोलनलाई जोगाउन अब परम्परागत घेरातोडेर आउट अफ बक्स जानुको विकल्प नरहेको बताउनुभएको छ ।

पार्टी संयोजकलाई पूर्वजानकारी नदिई जागरण अभियान घोषणागरेको विषयमा प्रष्टीकरणदिँदै नेता खनालले आन्दोलन गम्भीर संकटमा परेका बेला नेतृत्वको मुखमात्र ताकेर बस्न नसकिने दाबि पनि गर्नुभएको छ । उहाँले पार्टीभित्रै बहस गर्न खोज्दा कारवाहीको डन्डा चलाइन्छ, मुख थुनिन्छ वा चुपचाप हजुरभन्दै दास बन्नुपर्ने अवस्था छ ।

यस्तो अवस्थामा पार्टी रुपान्तरणका लागि अलिकति नयाँ तरिका अपनाउनैपर्छ। घरभित्रै बसिरहेर आफ्नो घर कस्तो छभनेर देखिँदैन, त्यसका लागि बाहिर निस्कनैपर्छ। यो कुनै व्यक्ति वा समूहको नभई सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठनगर्ने साझा अभियान हो भन्नुभएको छ । उहाँले एमालेसहित छरिएर रहेका ६,७ वटा वामपन्थी समूह र स्वतन्त्र व्यक्तिहरुलाई आफ्नो अभियानमार्फत एउटै वैचारिक प्लेटफर्ममा ल्याउने लक्ष्य राखिएको जानकारी पनि दिनुभएको छ ।