काठमाडौं, २२ असोज । नेपालमा बिवादास्पद अमेरिकी योजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको म्याद एकवर्ष थपगर्ने तयारी गरिएको थाहाभएको छ । एमसीसी अनुदानमा सञ्चालित परियोजनाहरु पाँच वर्षभित्र सम्पन्न गर्नैपर्ने बाध्यात्मक व्यवस्था थियो । तर नेपालमा परियोजना कार्यान्वयन शुरु (इन्ट्री इन्टु फोर्स) भएपछि अमेरिकी सहयोगबारे समीक्षाका कारण केही महिना काम स्थगित भएको, प्राकृतिक विपद्का कारण ढिलाइ भएको लगायत कारण एकवर्षसम्म म्याद थपगर्ने विषयमा नेपाल र अमेरिका दुवै सहमति नजिक पुगेको बताइएको छ । नेपालमा उक्त परियोजना ०८० को भदौ १३ देखि कार्यान्वयनमा गएको भनिएको थियो ।
सोही मितिदेखि पाँचवर्षभित्र परियोजना कार्यान्वयन भइसक्नुपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने एमसीसी कम्प्याक्टमा उल्लेख छ । तर यसबीच अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि उक्त सहयोगको समीक्षाका लागि केही समय कार्यान्वयन रोकिएको थियो । त्यसैगरी गतवर्ष र यसवर्ष त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पनि परियोजना कार्यान्वयनमा असर परेको बताइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको अमेरिका भ्रमणकाक्रममा एमसीसीका निमित्त उपाध्यक्ष ज्यासन स्मलले उहाँसँग भेट गरी म्याद थप्नेबारे छलफल गरेको बताइएको छ ।
भेटमा पनि दुई पक्षबीच परियोजना कार्यान्वयन म्याद थपगरेरै भए पनि यसलाई सफल बनाउने विषयमा छलफल भएको सूत्रहरुले उल्लेख गरेका छन् । अमेरिकाले शुरुमा ५० करोड डलर अनुदान दिने र नेपालले शुरुमा १३ करोड डलर योगदानगर्ने सम्झौता भएको भनिएपनि अमेरिकाले हालसँम्म रकम दिएको छैनभने नेपालको ३० अर्बभन्दा बढी रकम खर्च भैसकेको छ । पछिल्लो समयमा अमेरिकाले बिभिन्न बैठक र अमेरिकी अधिकारीहरुको आवत–जावतमा रकम खर्चभएको बिवरण सार्बजनिक गरेको थियो ।