काठमाडौं, २२ असोज । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपाललाई युक्रेनजस्तै बनाउन खोजिएको खुलाशा गर्नुभएको छ । उहाँले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुननहुने बताउनुभएको छ । कांग्रेसको महाधिवशेन अन्तर्गत बन्दसत्रमा हिजो बुधबार सम्बोधनगर्दै नेता आङदेम्बेले उपरोक्त चिन्ता ब्यक्त गर्नुभएको हो । उहाँले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्वहरुले मुलुकलाई कुन बेला दुर्घटना वा युक्रेनजस्तै परिस्थितिमा पु¥याउँछन्भन्ने ठेगान नभएको भन्दै यस्तो अवस्थामा कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुननहुने बताउनु भएको थियो ।

उहाँले महाधिवेशनमा युवा प्रतिनिधिदेखि ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुसम्मले देखाएको भरोसालाई आत्मसात गरेर अघि बढ्नुपर्ने पनि बताउनुभएको थियो । उहाँले केवल नेतृत्व वा अनुहार फेर्दैमा पार्टीको दिगो विकास नहुने बताउँदै नीति, सिद्धान्त, संस्थागत प्रणाली र क्रियाशीलतामा परिवर्तन ल्याउन सके कांग्रेसले युगौँसम्म देशलाई दिशा निर्देशगर्न सक्ने दाबि पनि गर्नुभएको थियो ।

नेता आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने र सत्ता प्राप्तगर्ने माध्यममात्र नबनाई मुलुकको समृद्धि, समुन्नति र परिवर्तनका सोचहरु कार्यान्वयनगर्ने सशक्त पार्टीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको थियो । उनले पार्टीलाई सिंगो र एकढिक्का बनाएर लैजाने प्रयासलाई समर्थनगर्दै आफूले कुनैपनि पदमा उम्मेदवारी नदिएको खुलाशा पनि गर्नुभएको थियो ।