काठमाडौं,७ मंसिर । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय वार्तापछि दुई देशबीच शैक्षिक, सुरक्षा, स्वास्थ्य र प्रविधिसहितका विभिन्न आठवटा महवपूर्ण क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नयाँदिल्लीमा दुई देशका सरकार प्रमुखको उपस्थितिमा भएका समझदारीपत्र तथा सहकार्यका क्षेत्रहरुमा भारतको गुजरातस्थित गान्धीनगरमा अवस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेशनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच आपसी सुरक्षा तथा तालिम सहकार्यसम्बन्धी समझदारी भएको छ । त्यसैगरी भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिएको छ । त्यसैगरी आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा आपसी सहकार्यलाई प्रवद्र्धनगर्ने उद्देश्यले भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) नेटवर्क स्थापनागर्ने विषयमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी भएको छ ।

त्यसैगरी दिगो सहरी विकास तथा पूर्वाधारको क्षेत्रमा प्राविधिक सहकार्य बढाउन भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । त्यसैगरी स्वास्थ्य तथा चिकित्सा विज्ञानको क्षेत्रमा सहकार्यगर्न भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी भएको छ । त्यसैगरी आधुनिक प्रविधि प्रयोगमार्फत पशुपालन र मत्स्यपालन विकासको क्षेत्रमा सहकार्यगर्न भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।