
काठमाडौं, २१ असोज । नेकपा (मसाल) सम्बद्ध मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा गर्ने निर्णय भएको थाहा भएको छ । हैदरावादमा हालै सम्पन्न मूल प्रवाहको केन्द्रीय विस्तारित बैठकले सो निर्णय गरेको हो ।
मूल प्रवाहका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले जारी गर्नुभएको एक बिज्ञप्तिमा उपरोक्त कुरा उल्लेख छ । सम्मेलन सफलपार्न महासचिव त्रिभुवन भट्टराईको संयोजकत्वमा ४२५ सदस्यीय प्रचारप्रसार समिति, कोषाध्यक्ष चन्द्रकान्त शर्माको संयोजकत्वमा १९ सदस्यीय आर्थिक समिति, केन्द्रीय सदस्य प्रेम आचार्यको संयोजकत्वमा १५१ सदस्यीय स्वयम्सेवक समिति, केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको संयोजकत्वमा १७ सदस्यीय सांस्कृतिक समिति, केन्द्रीय सदस्य तारा सोमरेको संयोजकत्वमा ११ सदस्यीय मेस व्यवस्थापन समिति, केन्द्रीय सल्लाहकार ठाकुर खनालको संयोजकत्वमा पाँच सदस्यीय सञ्चार समिति र केन्द्रीय उपाध्यक्ष कपिल खनालको संयोजकत्वमा पाँच सदस्यीय हल तथा मार्केटिङ व्यवस्थापन उपसमिति गठन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार विस्तारित बैठकको उद्घाटन नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।
त्यसक्रममा उहाँले उद्घाटन मन्तव्य पनि राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, मूल प्रवाहका पूर्व अध्यक्ष ठाकुर खनाललगायतको आतिथ्य रहेको थियो ।