काठमाडौं,६ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकलाई अग्रगामी दिशामा लैजान वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ । नेकपाको काठमाडौं जिल्ला समितिको एकता बैठक तथा राष्ट्रिय जागरण अभियानको हिजो उद्घाटनगर्दै उहाँले कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुको विकल्प नरहेकामा जोड दिनुभएको थियो । विगतदेखि नै आफू वामपन्थी शक्तिलाई एकताबद्ध बनाउने प्रयासमा लागिरहेको बताउँदै संयोजक दाहालले यसअघिका त्रुटि सच्याएर अघिबढ्न सबैले प्रण गर्नुपर्ने उल्लेख गर्नुभएको थियो । उहाँले हिजोको असफलताबाट पाठ सिकेर फेरि एकपटक कम्युनिष्ट एकताको झण्डा उठाउनुपर्छ भन्नुभयो ।

त्यसैगरी संयोजक दाहालले संविधान तथा कानुनले व्यवस्थालाई टेकेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको मध्यपुरथिमिमा नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटनगर्दै उहाँले जेठ ५ गते स्थानीय तहको पाँचवर्षे कार्यकाल पूरा हुनेगरी निर्वाचन गर्नुपर्ने बताउनुभएको थियो । उहाँले निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको र आगामी मंसिरको पहिलो साता प्रदेशको निर्वाचनगर्ने प्रस्ताव आएको छ, दलहरुको भनाइ पनि संविधानले व्यबस्था गरेअनुसार नै हुनुपर्छभन्ने हो भन्नुभएको थियो । उहाँले लोकतन्त्रको रक्षाका लागि संविधानको रक्षा हुनु आवश्यक रहेको बताउनुभएको थियो ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई टिकट बाँड्ने काम पार्टीको माथिल्लो तहले कुनै हस्तक्षेप नगर्ने बताउँदै स्थानीय तहको उम्मेदवार कसलाई बनाउनेभन्ने निर्णय तल्लो तहलेनै गर्न निर्देशन दिनुभएको थियो । सोही कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियान जनताको घरदैलोमा पुगेर जनतालाई विगतमा भएका र गरेका कामबारे प्रचारगर्न छुटाउनु नहुने बताउनुभएको थियो ।