काठमाडौं, २२ असोज । विश्वव्यापी आर्थिक सूचकांकमा नेपाल एक स्थान तल झरेको थाहाभएको छ । समृद्धि फाउन्डेसन र क्यानडास्थित फ्रेजर इन्ष्टिच्युटले हालै सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता सन् २०२६ वार्षिक प्रतिवेदनकाअनुसार नेपाल १६५ देशमध्ये नेपाल ९०औँ स्थानमा पुगेको हो । गतवर्ष नेपाल ८९ औँ स्थानमा रहेको भनिएको थियो । यसवर्ष नेपालले १० मध्ये ६.५९ अंक प्राप्तगरेको छ । गतवर्ष नेपालको अंक ६.५८ थियो । अंकमा सामान्य सुधार भएपनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल झरेको भनिएको छ । उक्त प्रतिवेदनका अनुसार नेपालको आर्थिक स्वतन्त्रता मापन गरिने पाँच प्रमुख क्षेत्रमध्ये केहीमा सुधार र केहीमा गिरावट आएको छ । सरकारको आकारमा नेपाल ५१औँ स्थानमा छ । गतवर्ष ७.२९ अंकसहित ४९औँ स्थानमा रहेको नेपाल यस वर्ष ७.२५ अंकसहित ५१औँ स्थानमा झरेको हो । कानूनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा नेपाल ९६औँ स्थानमा छ । गतवर्ष ४.९२ अंकसहित ९१औँ स्थानमा रहेकोमा यसवर्ष अंक ४.८२ मा झरेको छ । स्वस्थ मुद्रामा पहुँचमा नेपालको अंक भने बढेको छ ।
गतवर्ष ७.३७ अंकसहित ९६औँ स्थानमा रहेको नेपाल यसवर्ष ७.५७ अंकसहित १०१औँ स्थानमा छ । त्यस्तै, अन्तर्राष्ट्रिय व्यापारगर्ने स्वतन्त्रतामा नेपालले सुधार गरेको छ । गत वर्ष ६.२१ अंकसहित १२६औँ स्थानमा रहेको नेपाल यसवर्ष ६.३९ अंकसहित ११७औँ स्थानमा पुगेको छ । नियमनतर्फभने नेपाल ३७औँ स्थानबाट ५० औँ स्थानमा झरेको छ । गत वर्ष ७.१२ अंक रहेकोमा यसवर्ष ६.९० अंक प्राप्तगरेको छ । प्रतिवेदनमा समेटिएका पाँच प्रमुख क्षेत्र अन्तर्गतका २४ उपसूचकमा नेपाल सातवटामामाथि उक्लिएको छ । ६ वटा उपसूचकमा तल झर्दा ११ वटामा गत वर्षकै स्थानमा रहेको छ । विश्वव्यापी वरीयतामा एक स्थान तल झरे पनि नेपालको आर्थिक स्वतन्त्रताको समग्र अंक भने कोभिड–१९ महामारीका बेला आएको गिरावटबाट पूर्ण रुपमा सुधार भएको प्रतिवेदनले देखाएको छ । सन् २०१९ मा नेपालले ६.५२ अंकसहित ९८औँ स्थान हासिल गरेको थियो ।
सन् २०२० मा अंक घटेर ६.३१ पुगेपछि नेपाल १००औँ स्थानमा झरेको थियो । त्यसपछि नेपालको अंक क्रमशः सुधारहुँदै यसवर्ष ६.५९ पुगेको हो । समृद्धि फाउन्डेसनले नेपालमा १९औँ पटक विश्व आर्थिक स्वतन्त्रता सूचकांक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार उच्च आर्थिक स्वतन्त्रता भएका देशमा बसोबास गर्ने मानिसको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औसत आयु तुलनात्मकरुपमा बढी हुने गरेको छ ।
सन् २०२४ मा आर्थिक स्वतन्त्रताको उच्च चतुर्थांश (२५ प्रतिशतमा) मा रहेका देशहरुको औसत प्रतिव्यक्ति आय ६५ हजार ५९६ अमेरिकी डलर रहेको थियोभने तल्लो चतुर्थांशमा रहेका देशहरुको औसत प्रतिव्यक्ति आय ९ हजार ५५२ डलर थियो । त्यस्तै उच्च आर्थिक स्वतन्त्रता भएका देशको औसत आयु ८०.७ वर्ष रहेकोमा तल्लो चतुर्थाम्शमा रहेका देशको औसत आयु ६७.१ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ ।