काठमाडौं, ७ भदौ । साहित्य सन्ध्याले बिभिन्न पाँच स्रष्टा एवं अभियानकर्मीलाई ०८२ को पुरस्कार तथा सम्मान प्रदान गरेको छ । काठमाडौँमा हिजो आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी, सन्ध्याका अध्यक्ष राम विनयसहितले ती सम्मान र पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसक्रममा दाङकी साहित्यकार डा बिन्दु शर्माले २१ हजार १०० राशिको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान र ओखलढुंगाका साहित्यकार ओमप्रसाद कोइरालाले पाँच हजार राशिको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको थियो । त्यसैगरी सामाजिक रुपान्तरण अभियानकी अभियन्ता तथा जनप्रतिनिधि सान्नानी मिजारलाई १० हजार राशिको साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी नुवाकोट स्थायी घरभई हाल काठमाडौंको भीमसेनगोला माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत जेहेन्दार बिद्यार्थी लक्ष्मी तामाङलाई १० हजार राशिको साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी सोलुखुम्बु स्थायी ठेगानाभई हाल काठमाडौं निवासी नियात्राका गणेशप्रसाद खतिवडालाई १० हजार राशिको साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । पुरस्कार छनोटका लागि प्रा केशव सुवेदीका संयोजत्वमा समिति गठन गरिएको संस्थाका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभएको छ ।