डा. केशव देवकोटा
चीन र भारतजस्ता बिशाल भूगोल र अर्थतन्त्र भएका मुलुकहरुका बीचमा रहेको भूपरिवेष्ठित देश नेपालसँग दुबै छिमेकीले सहकार्यको प्रस्तावगर्नु धेरैका लागि आश्चर्यको बिषय भएको छ । पछिल्ला दिनहरुमा खासगरी चीनका नेताहरुले नेपालका नेताहरुसँग नेपाल, चीन र भारतबीच त्रिदेशीय सहकार्यका कुराहरु उठाउने गरेको पाइएको छ । हालै एमालेकी नेतृ तथा पूर्ब राष्ट्रपति बिद्यादेवी भण्डारीको चीन भ्रमणकाक्रममा क्षेत्रीय सहकार्यका कुराहरु उठेका थिए । साधारणतया सुन्दा यी शब्दहरु कर्णप्रिय भए पनि यसका भित्री पाटाहरुकाबारेमा तीनवटै देशले ब्याख्या र बिश्लेषण गरेको देखिएको छैन । बिशाल चीन र भारतसँग नेपालले सहकार्यगर्ने मात्र पनि कुनै चानचुने कुरा होइन । यो प्रशंगका पछाडि सकारात्मक, नकारात्मक र रणनीतिक तीनपटा पाटाहरु रहेका छन् । जसकाबारेमा समय सापेक्षा ब्याख्या र बिश्लेषणको आवश्यकता छ । चीनले त नेपाल अव भूपरिवेष्ठित देश नरहेको नयाँ प्रस्तावनासमेत अगाडि सारेको छ । जसको बृहत् अर्थ लगाउन सकिन्छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुलको उपमा दिनुभएको थियो । तर, पछिल्ला दिनमा केहीले नेपाल चीन र भारतबीच रहेको डाइनामाकोरुपमा ब्याख्या र बिश्लेषणगर्ने प्रयास पनि गरे । तर, यथार्थमा त्रिदेशीय सहकार्यको कुराले यसलाई दुई ढुंगा बीचको तरुलनै साबित गरिदिएको छ । अर्थात यो डाइनामा भएर पडकिने होइन, तरुल भएर दुबै देशका लागि त्यतिकै उपयोगी हुनसक्नुपर्ने अवस्था छ । त्यसैले यस बिषयबस्तुका बारेमा नेपालमा चर्चा र परिचर्चाहरु अलि बढीनै हुनुपर्ने हुन्छ । यसबारे नेपालका खासगरी राजनीतिक बिश्लेषकहरुको समयमा नै ध्यान जानु जरुरी छ । यस सन्दर्भमा पहिलो कुरा त तीन देशीय सहमति र सहकार्य किन भन्ने कुरा आउँछ । यतिबेला नेपालका छिमेकी मुलुकहरु चीन र भारत दुबैले नेपालबाट आफ्नो भूमिमा सुरक्षा खतरा देखेका छन् । भारत नेपाली भूमिहुँदै चीनबाट खतरा देख्ने गर्दथ्योभने चीनले पनि नेपाली भूमिहुँदै भारतबाट खतरा देख्नेगरेको थियो । तर, पछिल्लो समयमा चीन र भारत दुबैले अमेरिका र बेलायतलगायतका पश्चिमा मुलुकबाट खतरा देख्नथालेका छन् ।

त्यसैले उनीहरु नेपालमा पश्चिमा मुलुकको उपस्थिति नभएको देख्न चाहान्छन् । पश्चिमा मुलुकबाट त्यस्तो खतरा किन देख्ने गर्दछन् त्यो उनीहरु आफैले जान्ने कुरा हो । तर, नेपालको कुरा गर्ने होभने यहाँबाट चीन र भारत दुबैलाई कुनै खतरा देखिएको छैन । किनकी नेपालमा अन्य कुनैपनि देशबाट मानिस वा सामग्री आउने भनेको चीन र भारत भएरनै हो । चीनले भारतलाई खतरा देख्ने र भारतले चीनलाई खतरा देख्ने र त्यसको अपजस नेपाललाई दिने होभने यसले त्रिदेशीय सहकार्यलाई टाडा बनाउँछ । नेपाललाई बिशाल चीन र भारत दुबैतर्फबाट खतरा छ । त्यसमा पनि भारततर्फबाट बेलाबखत असुरक्षाका घण्टीहरु बज्ने गरेका कारण त्यसतर्फ सतर्क हुनैपर्दछ । कतिपय अवस्थामा त भारत सरकारकैतर्फबाट पनि नेपालमा असुरक्षा र अशान्तिका अवस्थाहरु आएका छन् । भारतीय नाकाबन्दी र सीमा अतिक्रमणलगायत यसका ताजा उदाहारणहरु हुन् । भारतबाटै भारतीय नक्कली नोट र हातहतियारको ओसार पसार भैरहेको देखिएको छ । त्यसैले नेपालले त्यसतर्फ निरन्तर सतर्कता अपनाउनै पर्दछ । जसका लागि नेपालले असंलग्न परराष्ट्र नीतिको अक्षरस पालनागर्ने र चीन तथा भारतसँग समान ब्यवहार गर्नेतिर ध्यान दिनुपर्दछ । भारतसँग बिशेष सम्बन्ध र चीनसँग साधारण सम्बन्ध भनियोभने त्यसले संकट निम्त्याउने काम गर्दछ र त्रिदेशीय सहकार्यलाई पनि भाँड्छ । त्यसैगरी नेपालको चीन र भारत दुबैतर्फ ब्यापार घाटाको अवस्था रहेको छ । यस्तो अवस्थामा नेपालले चीन र भारतसँग सहकार्य गर्दैमा नेपालको आर्थिक उन्नति हुन्छभन्ने कुरा होइन । जसका लागि नेपालले त्यो दुबैतर्फको ब्यापार घाटा घटाउने र आत्मनिर्भरताको बाटो अपनाउन तिर लाग्न सक्नुपर्दछ । यसका लागि नेपालसँग आयातलाई घटाउने र निर्यातलाई बढाउने बाहेक अर्को बिकल्प छैन । निर्यात बढाउनका लागि उत्पादनमा जोड दिनुपर्दछ । नेपालले चीन र भारतसँग सहकार्यगर्ने भनेको चीन र भारतबाट बिभिन्न सामग्रीहरु नेपालमा ल्याएर नेपाली जनताको आवश्यकता पूर्तिगर्ने भन्ने होइन । नेपालले आफ्नो उत्पादन बढाएर चीन र भारतजस्ता ठूला देशमा आफ्नो बजार बिस्तारगर्न सक्नुपर्दछ ।

चीन र भारतले नेपालसँग सहकार्यगर्ने भनेको पनि उनीहरुले नेपाललाई आफ्नो एकलौटी बजार बनाउन प्रयासगर्ने कुरा हो । नेपाल यतिबेला भारतको एकलौटी बजार बनिरहेको अवस्था छ । जसमा चीनका सामग्रीहरुले पनि बजार पाएका छन्भने नेपालको बाटोहुँदै चिनियाँ सामग्रीहरु भारतसम्म पनि पुगेका छन् । सुरक्षाका दृष्टिले नेपालमा चीन र भारतको चासो जोडिएको छ । त्यो भनेको नेपालमा अमेरिका र बेलायतको उपस्थितति हो । भारत र चीनले नेपालमा अमेरिकालगायतका अन्य शक्ति राष्ट्रको उपस्थितिलाई घटाउँदै लान सक्नुपर्ने भएको छ । यतिबेला झट्टहेर्दा अमेरिका र बेलायतले तिब्बतको कुरा उठाएर चीनलाई घेराबन्दीगर्ने र सकेको खण्डमा तिब्बतलाई फुटाउने भन्ने हो । तर, पश्चिमा राष्ट्रसँग भारतबाट आफ्नो उपनिवेश छाडेर जानुपरेको पूर्वाग्रह पनि रहेको छ । त्यसैले उनीहरुले भारतलाई पनि फुटाएर त्यहाँ आफ्नो प्रभुत्व अझै बढाउन चाहन्छन् भन्ने कुरालाई पनि नजरअन्दाजगर्न मिल्दैन । त्यसैले नेपालमा बेलायत र अमेरिकाको उपस्थिति र प्रभावलाई निषेधित गर्नुपर्नेमा चीन र भारतको साझा र बराबरीको चासो रहेको छ । त्यसो भन्दैमा नेपालले अमेरिका र बेलायतलाई पूरै इन्कारगर्न सक्ने अवस्था पनि छैन । किनकी उनीहरुसँग पनि नेपालको सदियौंदेखिको सम्बन्ध रहेको अवस्था हो । उनीहरुसँग पनि नेपालले बिभिन्न किसिमका कारोवारहरु गरिरहेको अवस्था छ । नेपालले चीन र भारतसँग सहकार्यका कुरा आउनासाथ अमेरिका र बेलायतलाई नकार्न सक्ने अवस्था हुँदैन । त्यसैले चीन र भारतसँग मिलेर नेपालले यहाँको उत्पादन बढाउने र सामाजिक सम्बन्धलाई सुमधुर बनाउने कुरा हुन्छ । यस्तो अवस्थामा नेपालले चीन र भारतसँगको सम्बन्धलाई लिएर राष्ट्रिय धारणा बनाउन सक्नुपर्ने भएको छ । जसका लागि सरकारले राष्ट्रिय चासोका बिषयमा संसदमा रहेका र नरहेका क्रियाशील बिभिन्न पार्टीहरुसँग छलफल गरेर निश्चित र साझा धारणा बनाउन सक्नु पर्दछ । तुलनात्मकरुपमा यहाँका बाम पार्टीहरुसँग चीनको राम्रो सम्बन्ध रहेको छ । पछिल्लो समयमा उ नेपाली कांग्रेस लगायतसँँग पनि राम्रो सम्बन्ध बनाउन चाहन्छभन्ने औपचारिक रुपमानै बाहिर आएको कुरा हो । त्यसैगरी भारतको तुलनात्मकरुपमा नेकांसँग राम्रो सम्बन्ध रहेको मानिन्छ । अब एमाले लगायतका अन्य पार्टीहरुसँग पनि उसले आफ्नो सम्बन्ध बिस्तार गरेर अगाडि बढ्न सक्नुपर्दछ । त्यसो भएको खण्डमा नेपाल, चीन र भारतका बीचमा सहकार्य हुनसक्छ ।

चीन र भारतले नेपाललाई आफ्नो खुट्टामा टेक्न सक्ने बनाउन आर्थिक र प्राबिधिक सहयोग गर्नुपर्ने हुन्छ । जसका लागि तीनवटै देशका नेताहरुले आपसमा खुलेर वार्ता अगाडि बढाउनु पर्दछ । आवश्यक परेको खण्डमा तीन देशको संयुक्त मञ्चको अवधारणा अगाडि सार्नु पनि सान्दर्भिक हुन्छ । तीन देशकाबीचमा एकले अर्कोलाई निषेधगर्ने नभई निकट बनाउने अभ्यासलाई प्राथमिकता दिनु आजको मुख्य आवश्यकता भएको छ । यस कुरालाई देशभक्त नेपालीहरुले छलफलको बिषय बनाउनु बढी सान्दर्घिक हुन्छ । (देशप्रेम साप्ताहिकबाट)