काठमाडौं,२४ जेठ । बिभिन्न चार दलले गुल्मीको इश्मा गाउँपालिकाकी उपाध्यक्ष, महिला कर्मचारी र शिक्षकहरुमाथि भएको दुव्र्यवहार प्रकरणमा प्रहरी–प्रशासनको भूमिका निन्दनीय रहेकोभन्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारीगर्दै घटनाका पीडितहरुको जाहेरी दर्तागर्न प्रहरी प्रशासनले आनाकानी गरेको आरोप लगाएका छन् । अनुसन्धान प्रक्रिया प्रभावकारीरुपमा अघि नबढाएको तथा आन्दोलनरत महिलाहरुलाई झुक्याएर आरोपितहरुलाई रिहा गरेको दलहरुले आरोप लगाएका छन् । विज्ञप्तिमा गत आठगते सिमलटारीमा आयोजित आध्यात्मिक कार्यक्रममा सहभागी हुन जानेक्रममा इश्मा गाउँपालिकाकी उपाध्यक्ष, महिला कर्मचारी, शिक्षक तथा चालकमाथि अराजक समूहले पिछागर्ने, बाटो रोक्ने, गालीगलौजगर्ने र चालकलाई लछारपछारगर्ने जस्ता गतिविधि भएको उल्लेख गरिएको छ ।
घटनामा न्यायको मागगर्दै आन्दोलनरत महिलाहरुले गत शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रदर्शन समेत गरेका थिए । महिलाहरुले दोषीमाथि तत्काल कानूनी कारवाही र निष्पक्ष अनुसन्धानको मागगर्दै दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिएका हुन् । चार दलले आन्दोलनरत महिलाहरुको न्यायका लागि उठेको आवाजप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र जिल्ला न्यायाधिवक्तालाई जिम्मेवार बनेर अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् । प्रशासन र प्रहरीले आफ्नो कमजोरी नसच्याए संयुक्तरुपमा थप सशक्त आन्दोलनका कार्यक्रम अघिबढाउन बाध्यहुने चेतावनी पनि दिएका छन् ।
संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति खिलध्वज पन्थी, एमालेका उपसचिव चक्रबन्धु भुसाल, नेकपाका संयोजक तेजिन्द्र सलामी मगर तथा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि हरि न्यौपानेको हस्ताक्षर छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको जिल्ला अधिवेशनमा गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोविन्द पन्थीले इश्मा घटनाबारे बोल्दै उक्त घटनालाई सामान्यभन्दै घटनालाई अतिरञ्जित गरिएको बताउनुभएको थियो । उहाँले सांसददेखि जिल्ला तहसम्म रास्वपालाई घेराबन्दीगर्ने प्रयास भएको दाबीसमेत गर्नुभएको थियो । सो भनाईले चार दललाई थप उत्तेजित बनाएको बताइन्छ ।