मोहनविक्रम सिंह
इजरायलद्वारा इरानमाथि आक्रमणको कारणले मध्यएशियामा युद्धको गम्भीर स्थिति उत्पन्न भएको छ । इरानको आणविक केन्द्रमा हमला गरेर अमेरिका पनि त्यो युद्धमा सामेल भएको छ । त्यो युद्धका कारणले जुन स्थिति उत्पन्न भएको छ, त्यो इरान र इजरायलको मात्र समस्या होइन, त्यो युद्धका कारणले पूरै मध्यएशियामा तनाव पैदा हुने र त्यो युद्धले विश्वयुद्धको रुप लिने सम्भावनालाई पनि अस्वीकारगर्न सकिन्न । त्यसरी इरान र इजरायलका बीचको युद्ध खालि त्यहाँको स्थानीय वा क्षेत्रीय समस्या मात्र नभएर सम्पूर्ण विश्वको शान्तिको समस्या हो । त्यसैले हामी नेपाली जनता र नेपाल सरकारको पनि त्यसप्रति गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा खालि इरान र इजरायलका बीचमा सम्झौता हुनुपर्छ र त्यहाँ शान्ति कायम हुनुपर्छ भन्नुमात्र पर्याप्त हुने छैन । त्यो युद्धबारे बिचारगर्ने बेलामा कसको पक्ष न्यायपूर्ण रहेको छ र कसको पक्ष अन्यायपूर्ण ? त्यसप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आज त्यहाँ जुन युद्ध भइरहेको छ, त्यसको मूल कारण प्यालेष्टाइनको समस्या हो । आजभन्दा करिब साढे सात दशक पहिले अमेरिकी साम्राज्यवादको समर्थनमा प्यालेष्टाइनीलाई जबरजस्ती आफ्नो देशबाट हटाएर त्यहाँ यहुदीको इजरायल राज्यको स्थापना गरियो । अहिलेको युद्ध वा तनावको समस्या साढे सात दशकपहिलेको त्यही घटनाको उपज हो । त्योबाहेक त्यसले मध्य एशियाका कैयौँ देशमा आफ्ना सैनिक अखडा पनि निर्माण गरेको छ । अमेरिकाले मध्य एशियामा आफ्नो प्रभुत्व कायमगर्न नै त्यसरी आफ्नो किल्लाको रुपमा इजरायल राज्यको स्थापना गरेको थियो । त्यसरी कुनै जातिलाई आफू बसेको ठाउँबाट जर्बजस्ती हटाएर नयाँ राज्यको स्थापनागर्नु अवश्य पनि न्यायपूर्ण कुरा थिएन । त्यसरी आफ्नो देशबाट धपाइएका प्यालेष्टाइन खाडीका बिभिन्न देशमा शरणार्थी भएर फैलिए । त्यो बेलादेखि नै प्यालेष्टाइनीले आफ्नो मातृभूमिको मुक्तिको लागि सशस्त्र संघर्ष चलाउँदै आएका छन् । त्यसरी त्यो संघर्ष मानवजातिको इतिहासको नै अत्यन्तै लामो, कठिन र कष्टसाध्य संघर्ष हो । प्यालेष्टाइनको त्यो मुक्ति आन्दोलन खालि उनीहरुसम्म मात्र सीमित रहेको छैन, गत करिब पौने एक शताब्दी लामो कालमा त्यो संघर्ष कैयौँ चरणहुँदै अगाडि बढ्दै आएको छ । अब त्यो संघर्ष खालि प्यालेष्टाइनको मात्र संघर्ष नभएर विश्वभरि कैयौँ राष्ट्र वा न्यायप्रेमी जनताले पनि त्यो आन्दोलनलाई समर्थन गरेका छन् । त्यसरी त्यो आन्दोलन एउटा अन्तराष्ट्रिय महत्वको आन्दोलन बन्नगएको छ । मध्य एशियाका कैयौँ देशले प्यालेष्टाइनको पक्षमा कैयौँपल्ट युद्ध पनि चलाएका छन्भने त्यहाँका कैयौँ सशस्त्र समूहले पनि प्यालेष्टाइनको पक्षमा सशस्त्र कारवाहीगर्दै आएका छन् । अहिले त्यहाँ भएको युद्ध वा सशस्त्र कारवाहीको प्रारम्भ गत साल अक्टोबर सात तारिखको घटनाबाट शुरु हुन्छ ।

त्यो बेला प्यालेष्टाइनको एउटा समूह हमासले इजरायलमा आक्रमण गरेर हजारभन्दा बढी मानिसको हत्या गरेको थियोभने २०० भन्दा बढी मानिसलाई अपहरण पनि गरेको थियो । त्यो काण्डमा १० जना नेपाली मारिएका थिए र एकजना नेपाली विपिन जोशी अपहरित भएका थिए । उनी अहिलेसम्म पनि मुक्त भएका छैनन् । हमासद्वारा निःशस्त्र जनतामाथि गरिएको त्यस प्रकारको हिंसात्मक कारवाही आतंकवादी थियो र हाम्रो पार्टीले त्यो बेला नै त्यसको भत्र्सना गरेको थियो । सात अक्टोबरको हिंसात्मक कारवाही अवश्य पनि गलत थियो तर त्यही घटनालाई बहाना बनाएर इजरायलले बम बर्साएर करिब साठी हजारभन्दा बढी प्यालेष्टाइनीको हत्या गरिसकेको छ, जसमा ठूलो संख्यामा महिला, बालबालिका पनि छन् । त्यहाँका अस्पताल, शिक्षण संस्था, निजी घरलाई पनि भत्काएर तिनीहरुलाई खण्डहर बनाइएको छ । निश्चयनै त्यस प्रकारको घोर दमनका बाबजुद प्यालेष्टाइनीले इजरायलमाथिको आफ्नो सशस्त्र संघर्ष जारी नै राखेका छन् । मध्यएशियाका अन्य कतिपय सशस्त्र समूहले पनि इजरायलका विरुद्ध सशस्त्र युद्ध चलाइरहेका छन् । इजरायल सरकारले गाजामा जाने बाटामा नाकाबन्दी गरेर त्यहाँ जाने राहत सामग्रीमा रोक लगाउने वा ती सामग्रीको वितरण गर्दा जम्मा भएका निःशस्त्र जनतामाथि आकाशबाट बम बर्साएर हत्यागर्ने कार्यसमेत गरिरहेको छ । त्यस प्रकारका अमानवीय कारवाही वा नरसंहारका लागि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अपराधी घोषितगर्दै अन्तर्राष्ट्रिय अदालतले उनको नाममा पक्राउ पूर्जी पनि जारीगरेको छ । इजरायलको छिमेकी कैयौँ देशसित युद्ध पनि चलिरहेको छ । त्यस सन्दर्भमा इरानसितको त्यसको युद्ध विशेष रुपले चर्किएको छ । गत महिनामा इजरायलले कैयौँपल्ट मिसाइल पठाएर इरानमाथि आक्रमण गरेको छभने इरानले पनि कैयौँ पल्ट इजरायलमाथि आक्रमण गरेको छ । हालै जुन १३ मा पनि इजरायलले इरानमाथि आक्रमण गरेको थियो र त्यसको जवाफमा इरानले पनि लगातार इजरायलमाथि आक्रमण गरिरहेको छ । प्रथमतः इजरायल राज्यको स्थापना नै जबर्जस्ती र अमानवीय तरिकाले गरिएको थियो । त्यसका साथै प्यालेष्टाइनी जनतालाई दबाउन इजरायल सरकारले जुन बर्बरनीति अपनाउने र दमनसमेत गर्ने गरेको छ, त्यो घोर अमानवीय छ ।

यहाँ यो पनि उल्लेखनीय छ कि इजरायलका प्रधानमन्त्री बन्जामिन नेतन्याहु आफ्नो देशका एक जना अत्यन्त भ्रष्ट व्यक्ति हुन् । इजरायलका अदालतमा भ्रष्टचारको आरोपमा उनीमाथि मुद्धा पनि चलिरहेको छ । अदालतद्वारा आफूमाथि कारवाही हुननदिन उनले इजरायलको अदालत अधिकारलाई पनि सीमित पार्न कानुन बनाउने कोसिस गरेका थिए । त्यसका विरुद्ध पनि इजरायलमा ठूलो जनप्रदर्शन भएको थियो । उनीमाथि यो पनि आरोप लगाउने गरिन्छ कि उनले आफूमाथि मुद्धा चल्न नदिन र प्रधानमन्त्रीको कुर्ची बचाउनका लागि नै युद्धलाई भड्काउने कोसिस गरेका थिए र त्यसमा युद्धविरामगर्ने संयुक्त राष्ट्रसमेतका प्रस्तावलाई अस्विकारगर्दै आएका थिए । त्यसरी उनी संसारको नै एकनम्बरको युद्धपिपासु बन्नपुगेका छन् । उनको स्वार्थ यही कुरामा थियो कि युद्ध लामो समयसम्म चलिरहोस् । त्यसबाट स्वयं इजरायलका जनतालाई नै कति क्षति पुग्दछ ? त्यसप्रति उनलाई कुनै चिन्ता थिएन । उनको त्यस प्रकारको युद्धले पनि अमेरिकाको पूरा समर्थन रहने ग¥यो । संयुक्त राष्ट्रमा इजरायल वा युद्धविरामका विरुद्धका कैयौँ प्रस्तावलाई अमेरिकाले भिटो लगाएर रोक्नेगरेको छ । त्यसैले इजरायल र अमेरिकाको त्यस प्रकारको नीतिको हामीले कडा शब्दमा विरोधगर्दै आएका छौँ र अहिले पनि गर्दछौँ । इजरायल सरकारको स्थापनापछि त्यसले प्यालेष्टाइनमाथि जुन बर्बर दमनगर्दै आएको छ, अमेरिकी साम्राज्यवादको समर्थनबिना सम्भव हुँदैनथ्यो ।

अहिले इरानमाथि आक्रमण गरेर अमेरिका प्रत्यक्षरुपले नै इजरायलको पक्षमा उभिएको छ । त्यसैले अमेरिकाको त्यस प्रकारको कारवाहीको पनि कडा शब्दमा विरोधगर्नु आवश्यक भएको छ । त्यही पृष्ठभूमिमा गत जुन २२ को मध्यरातिमा अमेरिकाले इरानका आणविक केन्द्रमा हमला गरेको थियो । अमेरिकाको त्यो आक्रमणको जवाफमा इरानले कतारस्थित अमेरिकाको सैन्य वा हवाइ ग्राउन्डमा हमला गरेको थियो । इरानद्वारा अमेरिकाको सैनिक अड्डामा गरिएको त्यो हमला संसारको अहिलेसम्मको नै विरलै कारवाही हो । यो थाहाभएको छ कि त्यही दिन खाडीस्थित अन्य कतिपय देशका अमेरिकाका सैनिक अखडामा पनि हमला गरिएको छ । अहिले संसारभरि नै इरानमाथि आक्रमणको लागि अमेरिकाको निन्दा भइरहेको छ । आज इरान र इजरायलका बीचमा मात्र होइन, पूरै मध्य एशियामा तनाव र युद्धको जुन स्थिति पैदा भएको छ, त्यसको पछाडिको मूलकारण प्यालेष्टाइनीलाई उनीहरुको देशबाट निष्काशित गरेर इजरायल राज्यको स्थापनागर्नु नै हो । त्यसैले हामीले सर्वप्रथम प्यालेष्टाइनीको स्वतन्त्र र सार्वभौमराज्यको स्थापनामा जोड दिन्छौँ । त्यसरी नै त्यहाँ साढे सात दशकदेखि चल्दै आएको समस्याको समाधान हुनेछ तर त्यसका लागि सबैभन्दा ठूलो बाधा अमेरिकी साम्राज्यवाद नै बनेको छ । त्यसले आफ्नो साम्राज्यवादी स्वार्थको लागि जबर्जस्ती इजरायल राज्य स्थापना गरेको थियो । त्यसको आडमा नै त्यो अहिलेसम्म अडेको छ । त्यो (इजरायल) प्यालेष्टाइनी जनतामाथि दमन गर्न र उनीहरुको न्यायपूर्ण हकबाट वञ्चितगर्न पनि सफलहुँदै आएको छ । अमेरिका मात्र होइन, अन्य साम्राज्यवादी देशले पनि इजरायल र त्यसका अन्यायपूर्ण कार्वाहीलाई समर्थनगर्दै आएका छन् । त्यसैले प्यालेष्टाइनी जनताको न्यायपूर्ण हकका लागि विश्व साम्राज्यवादका विरुद्धनै संघर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । त्यो समस्याको अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

इजरायल राज्यको स्थापना अमेरिकी साम्राज्यवादको बलमा अन्यायपूर्वक गरिएको भए पनि (इजरायल राज्यलाई) पूरै समाप्त गरेर त्यहाँ बसोवास गर्ने यहुदीलाई राज्यविहीन गराउनु अवश्य पनि न्यायसंगत कार्य हुनेछैन । त्यसैले हामीले प्यालेष्टाइनको एउटा स्वतन्त्र र सार्वभौम राज्यको निर्माणकासाथै इजरायल राज्यको अस्तित्वलाई पनि स्वीकार गर्दछौँ । त्यसरी ती दुवै राज्यको स्थापनाबाट लामो समयदेखि प्यालेष्टाइन र इजरायल राज्यका बीचमा भएको शत्रुतापूर्ण सम्बन्धको अन्त हुने र त्यो कारणले मध्य एशियामा भएको तनाव र युद्धको स्थितिको पनि अन्त हुनेछ भन्ने हाम्रो मत रहेको छ । अहिले प्यालेष्टाइन र यहुदी जनताकाबीचमा जुन वैमनस्यताको स्थिति उत्पन्न भएको छ, त्यसको कारण अमेरिकी साम्राज्यवाद र त्यसको साम्राज्यवादी स्वार्थको लागि कामगर्ने इजरायलको प्रतिक्रियावादी वा फासिष्ट सरकारनै हुन । त्यसैले अमेरिकी साम्राज्यवाद र त्यसको दलाल सरकारका विरुद्ध संघर्षगर्नु प्यालेष्टाइन र यहुदी जनता दुबैको साझा कर्तव्य बन्न जान्छ । त्यसरी नै त्यहाँ प्यालेष्टाइनी र यहुदी जनताका बीचमा मैत्रीपूर्ण सम्बन्ध कायम हुनेछ र त्यहाँको करिब साढे सात दशकदेखिको तनावको स्थितिको पनि अन्त हुनेछ । अहिले अमेरिकाले इरान र इजरायलका बीचमा युद्धविराम भएको घोषणा गरेको छ । प्रथमतः जबसम्म प्यालेष्टाइन एउटा स्वतन्त्र र सार्वभौम प्यालेष्टाइन राज्यको निर्माण हुँदैन वा त्यस प्रकारको राज्य निर्माणको लागि साम्राज्यवादी शक्ति वा इजरायलको फासिष्ट सरकारले बाधा पुरÞ्याइरहन्छ, प्लालेस्टाइन जनताको मुक्ति आन्दोलन निरन्तर चलिरहनुपर्ने कुरा प्रष्ट छ र त्यो चली पनि रहनेछ तैपनि अहिले इजरायल र प्यालेष्टाइनको युद्धमा युद्धविराम भएर शान्ति कायम हुन्छ भने पनि त्यसले दुबै देशका जनताको धनजनमा जुन क्षति भइरहेको छ, त्यो रोकिनेछ र तात्कालिक रुपमा त्यो स्वागतयोग्य कुरा नै हुनेछ तर इजराइल राज्यको स्थापना नै प्यालेष्टाइनी जनतामाथिको अन्यायपूर्ण कारवाहीको जगमाथि भएको थियो र दशकौँदेखि उनीहरुमाथि बर्बर प्रकारका दमनहुँदै आएका छन् । अमेरिकी साम्राज्यवाद वा इजरायल सरकारको त्यस प्रकारको चरित्रका कारणले उनीहरुले लगातार प्यालेष्टाइनी जनता वा त्यसको समर्थनमा उभिएका राष्ट्र र राजनीतिक समूहमाथि आक्रमणको नीतिलाई कहाँसम्म त्याग्नेछन् र अहिले घोषित युद्धविरामको नीतिलाई कहाँसम्म विश्वसनीय प्रकारले अगाडि बढाउनेछन् ? त्यो कुरा निश्चित रुपले भन्न सकिने अवस्था छैन तैपनि प्यालेष्टाइनी जनताको मुक्ति आन्दोलन अन्तमा सही निष्कर्ष वा विजयमा पुग्ने कुरामाथि दृढ विश्वास गर्दै तात्कालिक रुपमा अहिले त्यहाँ घोषणा गरिएको युद्धविरामको सफलताको कामना पनि गर्दछौँ । त्यस प्रकारको पृष्ठभूमिमा अमेरिकी साम्राज्यवाद र त्यसको दलाल इजरायल सरकारका विरुद्ध आवाज उठाउँदै त्यहाँको समस्यालाई यथार्थ र न्यायपूर्ण धरातलमा समाधानको लागि जोड दिनु विश्वभरका न्यायप्रेमी जनता र हामी नेपाली जनताको पनि कत्र्तव्य हुन जान्छ । इजरायल सरकारले प्यालेष्टाइनी जनतामाथि गरेको अन्यायपूर्ण र अमानवीय दमन, त्यसको इरानमाथिको आक्रमण र अमेरिकाले पनि इरानमाथि गरेको हमला समेतबारे नेपाल सरकारले सही नीति अपनाउन सकेको छैन । त्यसको नीति एक वा अर्को प्रकारले अमेरिका वा भारतपरस्त रहने गरेको छ । त्यसको त्यस प्रकारको नीतिका कारणले संयुक्त राष्ट्र संघका बैठकमा पनि नेपाल सरकारले सही र स्पष्ट नीति अपनाउन सकेको छैन । हामीले नेपाल सरकारको त्यस प्रकारको गलत परराष्ट्रनीतिको आलोचनागर्दै प्यालेष्टाइनको समस्याबारे सही नीति अपनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । यसका लागि नेकपा (मसाल) ले प्रशन्नता प्रकट गर्न चाहन्छ कि प्यालेष्टाइनी न्यायपूर्ण मुक्ति आन्दोलनको पक्षमा र इरानमाथि इजरायल र अमेरिकी साम्राज्यवादले गरेको आक्रमणका विरुद्ध नेपालका वामपन्थी शक्तिहरु एकताबद्ध भएर आज एउटा मञ्चमा उभिएका छन् । हामीलाई विश्वास छ, आज हाम्राबीचमा कायम यो ऐक्यबद्धताले आउने दिनमा पनि झन् ठूलो नेपालका वामपन्थी शक्तिका बीचमा अरु पनि राष्ट्रिय वा अन्तराष्ट्रिय समस्याबारे संयुक्त आन्दोलन उठाउनको लागि बलियो संयुक्त मोर्चा निर्माण गर्न वातावरण तयार पार्दै लैजानेछ । त्यसरी आजको यो ऐक्यबद्धतालाई हामीले खालि प्यालेष्टाइनको मुक्ति आन्दोलनका पक्षमा र इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमण विरुद्ध एकताको सीमित अर्थमा मात्र नलिएर त्यसले नेपालका वामपन्थी शक्तिका बीचमा संयुक्त मोर्चा निर्माणको पनि परस्परमा विश्वासको वातावरण तयार पार्नेछ भन्ने आशा गर्नुपर्दछ ।

यस सन्दर्भमा यसका लागि हामीले प्रशन्नता प्रकट गर्दछौँ कि हिजो असार १० गते बिभिन्न वामपन्थी संगठनसित सम्बन्धित विद्यार्थीहरुले पनि प्यालेष्टाइनको मुक्ति आन्दोलन र अमेरिकी साम्राज्यवाद तथा इजरायलले इरानमाथि गरेको आक्रमणका विरुद्ध संयुक्त रुपले प्रदर्शन गरेका थिए । ती सबै विद्यार्थीलाई पनि हामीले बधाई दिन चाहन्छौँ । आजको कार्यक्रमलाई खुला प्रदर्शनका रुपमा सञ्चालन गर्ने हाम्रो सोचाइ भएपनि वर्षाको मौसममाथि ध्यान दिएर हामीले यसलाई आन्तरिक कार्यक्रमको रुपमा सञ्चालन गर्नुपरेको छ तैपनि आगामी दिनमा आवश्यकताअनुसार यस प्रकारका कार्यक्रमलाई अरु उच्च र खुला रुपमा सञ्चालनगर्ने पनि हाम्रो प्रयत्न हुनेछ । अन्तमा, आज यो कार्यक्रममा उपस्थित सबै सहभागीलाई नेकपा (मसाल) ले अभिनन्दन गर्न चाहन्छ । हाम्रो यो कार्यक्रमले प्यालेष्टाइनी जनताको मुक्ति आन्दोलनको पक्षमा र इरानमाथि भएको अमेरिका र इजरायलको आक्रमणका विरुद्धको नेपाली जनताको समर्थनलाई पनि व्यक्त गर्दछ । त्यसैले हामीले आजको यो महत्वपूर्ण र ऐतिहासिक कार्यक्रममा उपस्थिति भएकोमा तपाईंहरुप्रति सम्मान र आभार प्रकट गर्न चाहान्छौँ । (लेखक ः नेकपा मसालका महामन्त्रि हुनुहुन्छ । )