काठमाडौं, १९ साउन । कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासंग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक गरिएको छ । पर्यटन प्रवद्र्धन मञ्चले हिजो काठमाडौंमा आयोजना गरेको कार्यक्रममा साहित्यकार अभि सुवेदीलगायत स्रस्टाहरुले उक्त कृतिको सार्वजनिक गर्नुभयो । शिक्षण पेशाबाट निवृत्त जिरेलको कविता संग्रह पर्यटन प्रवद्र्धन मञ्चले प्रकाशन गरेको हो । यसमा प्रकृति, संस्कृति र जीवनशैलीसम्बन्धी बिभिन्न ७१ कविता समावेश छन् । जिरेलका कवितामा राष्ट्रप्रेम, माटोको सुगन्धलगायत विषय लालित्यपूर्ण रहेको संग्रहको भूमिकामा साहित्यकार सुवेदीले लेख्नुभएको छ । संग्रहको समीक्षा गर्दै कवि ज्योति जंगलले सरलताबाट कविता संग्रह शुरुभएको बताउनुभयो । उहाँले कविताहरु सरलताबाट शुरुभएर दर्शनमा पुगेर अन्त्य हुन्छन् । कविले अरुको पीडा लेख्ने मात्र नभएर माटो र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई गहिरो रुपमा अभिव्यक्त गर्नुभएको छ भन्नुभयो ।
संग्रहमा कविले प्रेमिल राष्ट्रवाद, राजनीतिक सङ्घर्ष, जिरीको ऐतिहासिक महत्व र पर्यटन प्रवद्र्धनको आवश्यकतालाई कलात्मक ढंगमा प्रस्तुत गर्नुभएको तथा जिरी खुम्तीको सौन्दर्य, माटोको आवाज र कर्मशील युवाको हुँकारका रुपमा व्यक्त भएको चर्चा गरियो । पुस्तकका प्रकाशक लिलाराम खड्काले संग्रहलाई साहित्यिक पर्यटनको अभियानसँग जोड्न खोजिएको बताउनुभयो । उहाँले हामीले माटोलाई शब्दमा बाँध्ने प्रयास गरेका छौँ, जसले पाठकलाई पर्यटनप्रति नयाँ दृष्टिकोण दिन सक्छ भन्नुभयो । उहाँले जिरीसिक्री केवल भौगोलिक ठाउँ होइन, चेतनाको प्रतिनिधि बनेको छ भन्नुभयो । संग्रहका लेखक जिरेलले कविता संग्रहमार्फत आफ्रले समाजमा अनुशासन, प्रकृतिसँगको सामीप्यता र मातृभूमिप्रतिको प्रेमको सन्देश दिन खोजेको बताउनभयो ।
उहाँले यो संग्रह मेरो माटोप्रतिको समर्पण हो । जिरी मेरो आत्मा हो, जसलाई मैले कवितामार्फत बोलेको छु भन्नुभयो । वक्ताहरुले ‘जिरीसिक्रीका सुसेली’ नेपाली साहित्यमा केवल पर्यटनप्रेम मात्र नभई माटो र मनको आत्मीयता मिसिएको मौलिक स्वरुपको कविता संग्रहका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए । रासस