काठमाडौं, १० भदौ । बेलायतमा आयोजित १६ औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । मेलामा नेपाली मौलिकता झल्कने बिभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर संघ युकेले पहिलो स्थान प्राप्तगरेको छ । पासा पुच गुठी युकेले दोश्रोे स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेश्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङ जानकारी दिनुभएको छ । मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ संघ–संस्थामध्ये पासा पुच गुठी युके विजयी भएको छभने दोश्रोे स्थानमा तनहुँ समाज युके र तेश्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको ।

मेलामा आयोजित एस्वास्डर कपको उपाधि पासा पुच गुठी युकेले जित्योे । किरात याक्थुम चुम्लुङ युके दोश्रोे र किरात राई यायोक्खा युकेले तेश्रो स्थान प्राप्त गरे । मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गर्नुभएको थियो । उहाँले नेपालीहरु जहाँ पुगे पनि नेपालको मौलिकता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्नुभयो । कार्यक्रममा आयोजक समूहका तर्फबाट तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले नेपालीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । रासस