काठमाडौं, ६ वैशाख । कानूनको अन्तिम व्याख्यागर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले नै नियम पालना नगरेको पाइएको छ । यही वैशाख ३ गते अदालतको अनुगमन महाशाखाबाट आकस्मिक रुपमा हाजिर एवं ड्रेसकोड अनुगमनगर्दा नियम पालना नगरेको पाइएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ । सर्वाेच्च अदालत प्रशासनले जारीगरेको सूचनामा निर्दिष्ट समयभित्रै कर्मचारीका लागि तोकिएको पोशाकमामात्र अदालत प्रवेशगर्न र तोकिएको शाखामा प्रमुख÷महाशाखा प्रमुखको निर्देशनमा रही सेवाग्राहीबाट गुनासो नआउनेगरी कार्यसम्पादनगर्न तथा गराउन भनिएको छ । त्यस दिन बिहान गरिएको छड्के अनुगमनमा बिहान ९ः०० बजेपछि कार्यालय प्रवेशगर्ने कर्मचारीको संख्या ८२ जना रहेको तथा तोकिएको पोसाक नलगाउने २२ जना (जिन्स, टिसर्टसमेत लगाएका) पाइएको छ । बिदा स्वीकृत÷पूर्वजानकारी नगराइ अनुपस्थित रहेको संख्या ७० जना रहेका छन् ।
यस्तै, वैशाख २ गतेको कुर्सी छड्के गर्दा नौ जना (बिहान–बेलुका हाजिर मात्र गरेको) आफ्नो कार्यकक्षमा नभेटिएका पाइएको पनि अदालत प्रशासनले जानकारी दिएको छ । अनुगमनका क्रममा पाइएको कैफियतको अभिलेख रहने र अब उप्रान्त बिहान ९ः१५ पश्चात् एवं बेलुका ५ः०० बजेअघि हाजिरी मेसिनले हाजिर नलिने बेहोरासमेत जानकारी गराउँदै अदालतले अनुगमन महाशाखाबाट यो कार्य निरन्तररुपमा जारी रहने उल्लेख गरेको छ । रासस