महादेव अवस्थी
कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ । पछिल्लो समय उन्नत नश्लका गाई र भँैसीको व्यावसायिक पालन हुन थालेपछि जिल्ला दूधमा आत्मनिर्भर भएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी खड्कबहादुर पाण्डेयले सरकारले व्यावसायिक पशुपालनमा अनुदान दिनथालेपछि मासुमा समेत आत्मनिर्भर भएको जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरमा एक लाख ४८ हजार १७७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । यसमा भैँसीको ४३ हजार ५०५ मेट्रिक टन दूध उत्पादन हुनेगरेको छभने गाईको ५४ हजार ८१७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जिल्लामा वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूधको आबश्यकता भए पनि १३४ लिटर दूध उत्पादन हुनेगरेको सूचना अधिकारी पाण्डेयले बताउनुभयो । जिल्लामा दुई हजार ३२७ मेट्रिक टन बाख्राको मासु उत्पादन हुनेगरेको छभने भँैसी÷राँगाको चार हजार ९९७ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । ब्रोइलर कुखुराको मासु एकहजार २०८ मेट्रिक टन र स्थानीय कुखुराको मासु ७७ मेट्रिक टन उत्पादन हुने गरेको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । जिल्लामा २७० हेक्टरमा निर्मित माछा पोखरीबाट एकहजार ३५७ मेट्रिक टन माछा उत्पादन हुने गरेको छभने १७२ हेक्टरमा रहेको प्राकृतिक पोखरीबाट ४१७ मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्यांक छ । यहाँ वार्षिक प्रतिव्यक्ति १४ किलो मासु आबश्यक रहेकामा १४.५ किलो उत्पादन हुनेगरेको छ । सूचना अधिकारी पाण्डेयले कञ्चनपुर दूध र मासु आत्मनिर्भर भइसकेको छ ।
दोधारा चाँदनीमा हुने उत्पादन छिमेकी देश भारतका सहरमा निर्यात हुनेगरेको छभने अन्य ठाउँको कैलालीमा निर्यात हुनेगरेको छ । पछिल्लो समय किसानले व्यावसायिक रुपमा पशुपालनगर्न थालेपछि जिल्लामा दूध र मासु उत्पादन बढेको हो भन्नुभयो । सरकारबाट पनि किसानले अनुदान पाउन थाले र व्यवसायिकरुपमा पशुपालनगर्न थालेका र घाँसखेतीसमेत बढ्न थालेपछि यसमा सहज भएको जनाइएको छ । दोधारा चाँदनी भारतीय बजार नजिक भएकाले यहाँको दूध भारत जाने गरेको छभने अन्य ठाउँको दूध कैलालीको दुग्ध विकास संस्थान (डिडिसी) ले खरिद गर्नेगरेको छ । श्री उन्नत भैँसीपालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लालबहादुर पुनले दोधारा चाँदनीको दूध भारत र महेन्द्रनगर बजारमा बिक्री हुने गरेको जानकारी दिनुभयो । उहाँले भारतका व्यापारीहरु दूध खरिदका लागि यही आउनेगरेका छन् । हामीमध्ये केहीले महेन्द्रनगर बजारका डेरीमा लग्नेगरेका छन् । गाईभैँसी पालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान समूह बनाएर व्यावसायिक रुपमा पशुपालनमा लागेका छन् भन्नुभयो । संयोजक पुनले ४१ जनाको समूह बनाएर हाल भैँसीपालन भइरहेको बताउनुभयो । उहाँले पहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ७० लाख अनुदान पायौँ, त्यसले भैँसीपालनमा सहज भयो ।
हाम्रो समूहका अन्य ११ जनाले बाख्रापालनसमेत गरिरहेका छन् भन्नुभयो । व्यावसायिक कृषिको विकासगर्ने लक्ष्यअनुसार चालु आर्थिक बर्षमा यहाँको कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको छ । लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा बाख्रा पकेट क्षेत्रका लागि प्रत्येक पालिकाका लागि ४० लाख बजेट विनियोजन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । रासस