राजेन्द्रप्रसाद पनेरु
बीस बर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उहाँले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक एक लाखसम्म कमाउने हैसियत बनाउनुभएको छ । सामान्य संघर्ष मात्रले त्यो हैसियत बनेको होइन । बाल्यकालदेखि नै गरिबी, कमैया प्रथा र श्रमको बेडामा बाँधिनुभएका डगौराको संघर्षमय यात्रा अहिले गाउँकै लागि प्रेरणादायी बनेको छ । उहाँ भन्नुहुन्छ–दुःख त धेरै भोगियो, तर मिहिनेत गरेको मान्छेलाई ईश्वरले हात समाइदिँदोरहेछ । डगौराका बुबा वर्षौँसम्म जमिन्दारको घरमा कमैया थिए । आमाको मृत्युहुँदा उहाँ छ महिनाका मात्र हुनुहुन्थ्यो । बाल्यकालदेखि नै जमिन्दारको घरमै हुर्कनुपरेको उहाँले १० बर्षको उमेरमा गोरु चराउने जिम्मेवारी पाउनुभयो । पन्ध्र बर्ष पुग्दा बुबासँगै हलो जोत्ने काममा संलग्न हुनुभयो । त्यसको केही समयमै ‘सौंकी हालेर’ कमैया बस्न बाध्य भए । घरजग्गा केही थिएन, आश्रय पनि जमिन्दारकै ठाउँ थियो । डगौराले कमैया बस्नुबाहेक कुनै विकल्प थिएन भन्नुभयो । कमैयाको दिनचर्या अत्यन्त कठोर थियो । बिहान सबेरै हलो जोत्ने, गोरुका लागि घाँस काट्ने र फुर्सदमा जमिन्दारका भैँसी चराउने उहाँको दैनिकी थियो । चाडपर्वका दिन पनि गोरु स्याहारिसकेपछि मात्र बिदा मिल्थ्यो । उहाँले दशैँ, तिहार, माघी सबै दिन काम गर्नुपर्ने, कमैया जीवन भनेको कामकै बन्धन थियो भन्नुभयो । सौंकी लिएको रकमको ब्याज तिर्नुपर्ने बाध्यताले वर्षौँ उहाँ त्यही गाह्रो चक्रमा बिताउनुभयो । चार भाइमध्ये कान्छा डगौराले भन्नुभयो–हामी चारै भाइ ठूलो भएपछि बुबालाई कमैया बस्न दिएनौँ, तर आफैँ कमैयाबाट मुक्त भने हुनसकेनौँ, ती दिन सम्झँदा आज पनि मुटु काम्छ । सरकारले कमैया मुक्तिको घोषणा गरेपछि डगौराको जीवनमा नयाँ मोड आयो । कमैयाका नाममा लिइएको सौंकी रकम सरकारले मिनाहा गरे पनि ‘अरुको ऋण खान मिल्दैन’ भन्दै उहाँले आफूले लिएको सौंकी रकम जमिन्दारलाई फिर्ता गर्नुभयो ।

त्यसपछि २०५८ सालमा पुनःस्थापना कार्यक्रमअन्तर्गत झलारी बजार नजिकै चार कट्ठा घरबासको जग्गा पाएँ । त्यहीँ झुपडी बनाएर नयाँ जीवन शुरु भयो । त्यही समयमा गरिबी निवारण कोषले मुक्त कमैयाहरुका लागि समूह गठनगर्न थाल्यो । डगौरा पनि सो समूहमा आबद्ध हुनुभयो । समूहको कर्जा र आयमूलक कार्यक्रममार्फत किराना, पशुपालनजस्ता व्यवसाय सञ्चालनगर्ने निर्णय भयो । उहाँले मैले बंगुर पाल्ने निर्णय गरेँ । समूहबाट पहिलोपटक १० हजार ऋण लिएर चारवटा बंगुरका पाठा ल्याएँ तर चुनौतीहरु अझै बाक्लिँदै थिए, खानका लागि अन्न थिएन, बंगुरका लागि चारो जुटाउन त परकै कुरा भयो, केही दिन मजदुरी गरेर जीविका चल्यो, त्यसबाटै आएको रकमले बंगुरको चारो जुटाउन थालियो भन्नुभयो । त्यही बेला अधियाका रुपमा दुई बिघा जग्गा खेती गर्न पाइयो । उहाँले त्यहाँबाट आएको अन्नले परिवारको पेट पाल्नेमात्र नभई बंगुरका लागि पनि चारोको व्यवस्था भयो । बचेको अन्न बेचेर समूहको ऋण तिर्न भ्याएँ, बंगुर हुर्कँदै गए, बेच्दा केही आम्दानी पनि भएको बताउनु भयो । उहाँ अगाडि भन्नुहुन्छ–अर्कोपटक समूहबाट ५० हजार ऋण लिने निर्णय गरेँ, शुरुमा सदस्यहरु आशंकित भए, तर कुटानी पिसानी मिल राखेर कर्जा तिर्ने अश्वासन दिएँ, त्यसपछि एउटा चक्की र धान कुट्ने हलर मेशिन राखेँ । त्यतिबेला झलारी क्षेत्रमा बिद्युत् थिएन, त्यसैले मिल डिजेल इन्जिनमा चलाइयो । चार बर्षभित्रै मिल चल्यो र ग्राहक बढ्दै गए । उहाँले मिल चलेपछि नाफा पनि मनग्य भयो । ग्राहक बढेपछि सानो मेशिनले नधानेपछि ठूला मेशिन राख्ने योजना बनाएँ, यसका लागि समूहबाट लिएको कर्जा तिरेर फेरि एकलाख ५० हजार कर्जा लिएर आधुनिक मेशिन जडान गरेँ भन्नुभयो ।

यसबीच झलारीमा बिद्युत सुविधा पनि आइपुग्यो । २० हजार तिरेर डगौराले बिद्युत् मिटर जडानगर्दा मिल डिजेलबाट बिद्युतमा चल्न थाल्यो । हालसम्म डगौराले मिलमा झण्डै सात लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । अहिले दुईवटा सेलर, दुईवटा स्पेलर, दुई चक्की र आवश्यक बिद्युतीय मोटरसहित मिल ठूलो परिमाणमा सेवा दिन सक्षम छ । मासिक कमाइबारे उहाँ भन्नुहुन्छ–खर्च कटाएर महिनामा रु ५० हजार जति बचत हुन्छ, सिजनमा त एक लाखभन्दा बढी कमाइ हुन्छ । मिलबाट निस्कने खलि, ब्रानजस्ता वाइ–प्रोडक्ट बेचेर पनि थप आम्दानी भइरहेको छ । मिलबाटै आएको आयले डगौरा परिवारको हाल जीवनस्तर नै बदलिएको छ । पहिले झुपडीमा बस्ने उहाँ अहिले छकोठे पक्की घर बनाएर त्यसमै बस्दै आउनुभएको छ । मिल पनि पक्की पिलरसहित स्थायी संरचनामा विस्तार हुँदैछ । उहाँका पाँच छोरी र दुई छोरा सबै निजी विद्यालयमा पढ्दै आएका छन् । मिलका सबै काम मेशिन मर्मत, इन्जिन सरसफाइ, धान–गहुँ प्रशोधन उहाँ आफैँले सिक्नुभएको छ, जसले मिस्त्री खर्च पनि बचत हुन्छ । श्रीमती भागरथी चौधरी पनि मिलमै काम गर्नुहुन्छ । भागरथीले पहिले के लगाउने, के खाने, कहाँ बस्ने भन्ने ठूलो चिन्ता थियो । अब त्यो पीर छैन, कमाइले जीवन सहज भएको छ, छोराछोरीलाई राम्रो पढाइदिनेमात्र चाहना बाँकी छ, हामीले विद्यालयको मुखसम्म देख्न पाएनौँ, छोराछोरी पढेर ठूलो मानिस बनेको हेर्ने इच्छा छ भन्नुभयो ।

डगौराले कुखुरा, हाँस र बंगुरपालनलाई पनि निरन्तरता दिनुभएको छ । कुनै बेला कमैयाको कठोर जीवनमा बाँधिएका उहाँहरु अहिले मिहिनेत, अनुशासन र सही निर्णयले आर्थिक रुपमा आत्मनिर्भर बन्नुभएको छ । यद्यपि, डगौरा दम्पतीको एउटै गुनासो छ–गरिबका बालबालिकाले उच्च शिक्षा पढ्न सरकारबाट छात्रवृत्ति पाउनुपर्ने व्यवस्था सुनिन्छ, तर व्यवहारमा पाएका छैनौँ, यदि त्यो सुविधा प्राप्त हुन्थ्योभने हाम्रा छोराछोरी पनि डाक्टर, इन्जिनियर वा पाइलटजस्ता पेसामा पुग्थे । डगौराको जीवनले देखाउँछ– संकट र कठिनाइ कहिले पनि अन्त्य हुँदैन, सही समय, मिहिनेत र योजना भए जीवनको दिशा परिवर्तनगर्न सकिन्छ । रासस