प्रकाश सिलवाल
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रुपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ वैशाख १० गते भएको थियो । श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरबाट आरम्भ भएको नेकपा अहिले विभिन्न धार र पार्टीमा क्रियाशील छ । विश्व कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिष्ट आन्दोलनको स्थापना भएको थियो । त्यसबेला चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अङ्ग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको थियो भने नेपालीहरु १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताबाट मुक्त हुन खोजिरहेको बेला थियो । त्यहीबीचमा स्थापना भएको नेकपाको पहिलो महाधिवेशन ०१० साल माघ १० देखि २० गतेसम्म ललिपुरको पाटनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले महामन्त्रीमा मनमोहन अधिकारीलाई चयन गरेको थियो । दोस्रो महाधिवेशन ०१४ साल जेठ १५ देखि २५ गतेसम्म काठमाडौंको दरबारमार्गमा भई महासचिवमा डा केशरजङ्ग रायमाझीलाई जिम्मेवारी दिएको थियो । यो महाधिवेशनपछि पार्टीभित्र प्रजातन्त्र कि राजतन्त्र भन्ने विवाद उत्पन्न भएको थियो । नेकपाको तेस्रो महाधिवेशन पञ्चायतकालकै बीचमा ०१९ साल वैशाख ४ देखि १५ गतेसम्म भई महासचिवमा तुल्सीलाल अमात्य चुनिनुभएको थियो । नेकपाको चौथो महाधिवेशन भने २०४६ भदौ ९ देखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा भई महासचिवमा मदनकुमार भण्डारी निर्वाचित हुनुभएको थियो । यो महाधिधवेशनपछि नेकपाका विभिन्न समूह र उपसमूह देखा पर्न थाले भने एमालेले ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ’ भन्ने नाराका साथ आफूलाई अलग धारका रुपमा अगाडि बढाएको देखिन्छ ।

यसैगरी एमालेको पाँचौँ महाधिवेशन ०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौंको दशरथ रंगशालामा भएको थियो । यस महाधिवेशनबाट पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदनकुमार भण्डारी नेतृत्वमा आउनुभएको थियो । एमालेको हालसम्मको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको जनताको बहुदलीय जनवाद (जबज)लाई महासचिव भण्डारीले प्रस्तुत गरी पारित भएकाले यो महाधिवेशन एमालेको वैचारिक इतिहासमा महत्त्वपूर्ण मानिएको छ । यस्तै, एमालेको छैठौँ महाधिवेशन ०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगन्ज, बाँकेमाभई अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधवकुमार नेपाल चयन हुनुभयो । यो महाधिवेशनको मूलनारा ‘विकृति र विसंगतिका विरुद्ध संघर्ष गरौँ, विचारधारात्मक रुपमा पार्टीलाई एकताबद्ध पारौँ’ रहेको थियो । एमालेको सातौँ महाधिवेशन ०५९ माघ १८ देखि २२ गतेसम्म, जनकपुर, धनुषामा भएको थियो । ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास !’ को मूल नारा रहेको उक्त महाधिवेशनले महासचिवमा माधवकुमार नेपाललाई चयन गरेको थियो । त्यसपछि ०६५ फागुन ५ देखि १४ गतेसम्म, बुटवलको रुपन्देहीमा भएको आठौँ महाधिवेशनले अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित हुनुभयो । उक्त महाधिवेशनको मूल नारा ‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रुपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान !’ रहेको थियो ।

एमालेको नवौँ महाधिवेशन भने ०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा भई अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई निर्वाचित ग¥यो । महाधिवेशनको नारा ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ !’ रहेको थियो । पछिल्लो पाँच वर्षयता एमालेले नीति र विधान तथा नेतृत्व चयनका लागि छुट्टाछुट्टै महाधिवेशनको परिपाटी थालनी गरेको छ । एमालेको प्रथम विधान महाधिवेशन ०७८ असोज १५ देखि १७ गतेसम्म, गोदावरी, ललितपुरमा भएको थियो । उक्त महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !’ रहेको थियो । एमालेको दसौँ राष्ट्रिय महाधिवेशन ०७८ मंसिर १० देखि १२ गतेसम्म, सौराहा, चितवनमा भएको थियो । सो महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !’ भन्ने रहेको थियो ।

उक्त महाधिवेशनले अध्यक्षमा केपी ओली र महाचिवमा शंकर पोखरेललाई निर्वाचित गरेको थियो । एमालेको दोस्रो विधान महाधिवेशन ०८२ भदौ २० देखि २२ गतेसम्म, गोदावरी, ललितपुरमा भई नेतृत्वमा दुई कार्यकालभन्दा बढी रहन र ७० वर्षे उमेर हद हटाउने व्यवस्था गरिएको छ । मंसिर २७ गतेदेखि पार्टीको ११औँ महाधिवेशन शुरुभएको छ । भक्तपुरको सिर्जनानगरमा महाधिवेशनको उद्घाटन भएको छभने बन्दसत्र आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । यस महाधिवेशनको मूलनारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ । रासस