मोहनविक्रम सिंह
आगामी चुनावमा कसैसित गठबन्धन वा चुनावी तालमेल नगरीकन एक्लै जाने हाम्रो नीति हुनेछ । हाम्रो पार्टीको ०८१ सालमा भएको नवौँ महाधिवेशनले त्यही नीति घोषणा गरेको छ । हाम्रो पार्टीले एकातिर सैद्धान्तिक तथा अर्कातिर गत कालको बिभिन्न पार्टीसितको हाम्रो गठबन्धन वा चुनावी तालमेलको ठोस विश्लेषण गरेर त्यस प्रकारको नीति निर्धारित गरेको हो र आगामी चुनावमा पनि हामीले त्यही प्रकारको नीति अपनाउनेछौँ । सिद्धान्ततः देशको राजनीति परिस्थिति वा आवश्यकताअनुसार कुनै विरोधी वा दुस्मन शक्तिसित पनि कार्यगत एकता, गठबन्धन वा चुनावी तालमेल गर्ने नीति आवश्यक र सही दुबै हुन्छ । गत कालमा कैयौँ पल्ट हामीले त्यस प्रकारको नीति अपनाउँदै आएका छौँ र भविष्यमा पनि आवश्यकताअनुसार पारस्परिक समझदारीको आधारमा त्यस प्रकारको नीति अपनाउन सक्ने सम्भावनालाई हामीले अस्वीकार गर्दैनौँ तर आगामी चुनावको सन्दर्भमा एक्लै जाने नीति नै हाम्रो पार्टीले निश्चित गरेको छ । हामीले २०४६ सालमा नेपाली कंग्रेससहित बिभिन्न वामपन्थी शक्तिसित गठबन्धन गरेर निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध संयुक्त रुपले सङ्घर्ष गरेका थियौँ । त्यो नीति सही थियो र त्यस प्रकारको नीतिको परिणामस्वरुप नै निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त भएको थियो ।

२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरंकुश शासन कायम गरेपछि ०६२÷६३ सालमा वामपन्थी नेपाली कंग्रेस र मधेसवादी शक्तिसँग संयुक्त आन्दोलन चलेको थियो । त्यो आन्दोलनको परिणामस्वरुप नै खालि निरंकुश राजतन्त्रको अन्त्य मात्र भएको थिएन तर संविधानसभाको चुनाव भएर राजतन्त्रसमेतको अन्त्य भएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले दुई दुर्ई पल्ट संसद विघटन गराएर देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न गरेपछि हामीले राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी), जसपा र नेपाली कंग्रेससहितको संयुक्त जनआन्दोलनद्वारा ओलीको प्रयासलाई असफल बनाएका थियौँ । त्यसरी नेपालको राजनीतिमा कार्यगत एकता वा गठबन्धनका ऐतिहासिक उपलब्धि रहँदै आएका छन् । त्यस प्रकारको कार्यगत एकता र गठबन्धनबाट प्रतिगमनलाई बारम्बार धक्का पुग्नेगरेको हुनाले उनीहरुले त्यस प्रकारको गठबन्धनको लगातार आलोचना गर्दै आएका छन् तर इतिहासले त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनको नीतिलाई बारम्बार सही साबित गर्दै आएको छ । पाँचदलीय गठबन्धनको तर्फबाट हामीले चुनावी तालमेल गरेर चुनावमा भाग पनि लिएका थियौँ । त्यसरी तालमेल गर्दा संयुक्त रुपले उम्मेदवार उठाउने र सहमति भएका उम्मेदवारलाई सबैले समर्थनगर्ने समझदारी भएको थियो । हाम्रो पार्टीले वा राष्ट्रिय जनमोर्चाले त्यस प्रकारको सहमतिलाई इमानदारीपूर्वक पालन ग¥यो । नेपाली कंग्रेसको संस्थापन पक्षले पनि त्यसबारे इमानदारीता नै देखायो भन्ने हाम्रो निष्कर्ष रहेको छ तर त्यसको प्रतिपक्षले सहमतिका उम्मेदवारसित अन्तर्घात गर्ने वा हराउने नीति अपनायो । माओवादीले पनि बिभिन्न गाउँपालिका वा संसदीय चुनावका राष्ट्रिय जनमोर्चाका सहमतिका उम्मेदवारप्रति अन्तर्घातको नीति अपनायो । तत्कालीन एकीकृत समाजवादीले पनि कतिपय गाउँपालिका वा प्रदेशस्तरका राजमोका सहमतिका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार उठाउने नीति अपनायो ।

जहाँसम्म जसपाको प्रश्न छ, त्योसित चुनावमा हाम्रो कतै प्रत्यक्ष प्रतिस्पर्धा रहेको थिएन र त्योसित हाम्रो कुनै प्रकारको अन्तर्विरोध पनि उत्पन्न भएन । पहिले एमालेसित भएका कतिपय चुनावी तालमेलमा पनि त्यसले अन्तर्घात गरेकाले आवश्यकताअनुसार सिद्धान्ततः गठबन्धन वा चुनावी तालमेलको नीति सही भएन । अन्य पक्षले सहमति भएमा विषयमा इमान्दारिता नदेखाउने वा अन्तर्घात गर्ने कार्यशैली अपनाउने गरेको कुरामाथि ध्यानदिँदै हाम्रो पार्टीको नवौँ महाधिवेशनले एक्लै चुनावमा जाने नीति ठेगानगरेको छ र पूरै पार्टीलाई त्यसरी नै संगठनात्मक वा मानसिक रुपले तयारी गर्दै जाने निर्देशन दिएको छ । त्यही नीतिअनुसार रुपन्देहीमा हुन थालेको उपचुनावमा भाग लिने हाम्रो पार्टीको निर्णय थियो । संसदको नै विघटन भएपछि त्यो चुनाव हुन पाएन र हामीले त्यहाँ त्यो नीतिलाई प्रयोग गर्न पाएनौँ । आगामी कुनै चनावमा हामीले त्यही नीतिलाई अनुशरण गर्नेछौँ । हाम्रा लागि एक्लै चुनावमा जाने नीति कुनै नयाँ नीति होइन र पहिले पनि हामीले कैयौँ पल्ट एक्लै चुनावमा जाने नीतिको अभ्यास गर्दैआएका छौँ । त्यसरी बागलुङ, प्युठान र अर्घाखाँचीमा कैयौँ संसदीय क्षेत्रमा तथा कैयौँ जिल्लाका स्थानीय चुनावमा महत्वपूर्ण विजय प्राप्त गरेको हाम्रो इतिहास छ । संसदीय चुनाव हाम्रा लागि सबैथोक होइन । रणनीतिक वा सैद्धान्तिक रुपले हामीले त्यसलाई अस्वीकार गर्दछाँै र संसदीय प्रणालीलाई समाप्त गरेर त्यसका ठाउँमा नयाँ जनवादी व्यवस्था कायमगर्ने हाम्रो आधारभूत लक्ष्य रहेको छ तर त्यसका लागि परिस्थिति वा आधार तयार पार्नका लागि संसदीय चुनावको पनि उपयोग गर्ने हाम्रो कार्यनीति रहेको छ । जुन बेला चुनावको बहिष्कारद्वारा आन्दोलनलाई उच्चस्तरमा उठाउने सम्भावना रहन्छ, त्यो बेला हामीले चुनावको बहिष्कारको नीति अपनाउँछौँ तर त्यस्तो सम्भावना कम भएको बेलामा हामीले त्यसलाई उपयोग गर्ने नीति अपनाउँछौँ । चुनावलाई उपयोग गर्दा पनि हाम्रो मुख्य जोड त्यसको भण्डाफोर गर्नेतिरनै बढी हुन्छ ।

अहिले हामीले चुनावमा एक्लै जाने नीति अपनाएका छौँ । त्यो क्रममा पनि हाम्रो मुख्य जोड संसदीय प्रणाली वा अन्य राजनीतिक पार्टीको भण्डाफोर गर्नेतिर तथा त्यसरी जनताको चेतना उठाउने र नयाँ जनवादी क्रान्तिको लागि परिस्थिति वा आधार निर्माण गर्नेतिर नै बढी हुनेछ । हामीलाई विश्वास छ, हामीले अन्य पक्षसित गठबन्धन वा चुनावी तालमेल गरेर चुनावमा भाग लिएको बेलामा भन्दा एक्लै चुनाव लड्दा त्यो कार्य बढी प्रभावशाली र व्यापक रुपले गर्न सक्नेछौँ । अन्य पक्षसित चुनावी तालमेल गरेर चुनाव लड्दा हामीले देशका धेरैजसो निर्वाचन क्षेत्रलाई छाडेर एकाध क्षेत्रमा मात्र चुनाव लड्नुपर्दथ्यो र अन्य क्षेत्रमा अन्य राजनीतिक पार्टीका लागि छाडिदिनुपर्दथ्यो तर एक्लै चुनाव लड्दा हामीले देशभरि धेरै क्षेत्रमा चुनाव लड्न सक्नेछौँ । त्यसरी देशभरि नै हामीले आफ्ना कार्यकर्ताको परिचालन गर्न देशभरि नै राजनीतिक भण्डाफोर गर्न र जनताको चेतना उठाउन, व्यापकरुपले जनआधार निर्माण गर्न तथा संगठनलाई देशव्यापीरुपमा विस्तारगर्न सफल हुनेछौँ । कतिपय विरोधी पक्षले मात्र होइन, कतिपय हाम्रा इमानदार समर्थकले पनि एक्लै चुनाव लड्दा हामीलाई बढी क्षति पुग्न सक्दछ भनेर सोच्न पनि सक्दछन् ।

त्यो कुरामा सत्यता पनि छ र एक्लै चुनाव लड्दा हामीलाई कतिपय अर्थमा नोक्सान पनि पुग्न सक्दछ । त्यो एउटा पक्ष हो तर त्यसको अर्काे महत्वपूर्ण पक्ष यो हो– एक्लै चुनाव लड्दा हामीलाई कैयौँ महत्वपूर्ण लाभ पनि पुग्न सक्दछन्, जो दीर्घकालीन महत्वका हुनसक्दछन् । त्यसैले हाम्रो ध्यान सकारात्मक र दीर्घकालीन पक्षतिर नै केन्द्रित हुनुपर्दछ । (लेखक ः नेकपा मसालका महामन्त्रि हुनुहुन्छ ।)