राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, वन समिति बजार छेउको चिया पसलमा अचेल हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनकाबारेमा गरमागरम बहस हुन्छ । यहाँ उपस्थित भएकाहरुको कुरा सुन्दा लाग्छ, उनीहरु चियाको चुस्कीका लागि भन्दा निर्वाचनको गफ गर्न आएका हुन् । यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी र अगुवा नागरिक हुन्छन् । हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । कसैले भन्छन् चुनाव हुन्छ, कसैले भन्छन् हुँदैन । तर्क, आशंका र विचार फरक फरक भए पनि अन्तिममा एकमत देखिन्छन्—निर्वाचनको विकल्प छैन । प्रायः यहाँ चिया पसलमा भेटिने नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता शिवी लुहार निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्षका रुपमा व्याख्या गर्दै पछिल्लो परिस्थितिलाई सम्हाल्न निर्वाचन निर्विकल्प हो । उहाँ केही संशय व्यक्तगर्दै भन्नुहुन्छ–सरकारले मिति घोषणा गरेरमात्र पुग्दैन, सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर सुरक्षाको प्रत्याभूति गराउनु उत्तिकै आवश्यक छ । जसरी नेपालको संविधानले अंगीकार गरेको लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्न पनि आवधिक निर्वाचन हुनुपर्ने उहाँको मतमा धेरै सहमत देखिन्छन्, त्यसैगरी वर्तमान राजनीतिक परिस्थितिले जनमानसमा केही संशय र दुविधा सिर्जना गरेकामा एकमत सुनिन्छन् ।

लुहार निर्वाचनले नै जनमतको कदर गर्छ, हाम्रो पार्टीले चुनावको तयारी स्वरुप वडास्तरसम्मै संगठन विस्तार र एकता सभाहरु गरिरहेको छ । तर सरकारले तोकिएकै समयमा चुनाव हुन्छ भन्ने ठोस आधार र वातावरण तयार गर्न ढिलाइ गर्नुहुँदैन । केही विषयमा असहमतजस्तो देखिने दलहरु पनि चुनावी महोल बनाउन केन्द्रित हुनुपर्छ भन्नुहुन्छ । नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिका सभापति दानसिंह ऐर भने संसद् पुनःस्थापनाको मुद्धा अदालतमा विचाराधीन रहेकाले केही अन्योलमा हुनुहुन्छ । यद्यपि, पार्टीले आन्तरिक रुपमा निर्वाचनकै तयारी स्वरुप सदस्यता नवीकरण र उम्मेदवार सिफारिसको प्रक्रिया अघि बढाएकाले चुनावमै होमिने आफ्नो विश्वास रहेको उहाँको धारणा छ । ऐर भन्नुहुन्छ–लोकतन्त्रमा जनताको घरदैलोमा जाने माध्यम भनेकै निर्वाचन हो । समय कम भएकाले सरकारले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने देखिन्छ । त्यही बहसमा थपिनुहुन्छ कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका प्रमुख भवराज निरौला । उहाँ संघीयताको सफल कार्यान्वयनका लागि निर्वाचनले नयाँ ऊर्जा प्रदानगर्ने उल्लेखगर्दै निर्वाचनका लागि आवश्यक प्राविधिक तयारीलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । क्याम्पस प्रमुख निरौला मतदाता शिक्षाको शुरुवातगरी सक्नुपथ्र्यो, हालसम्म त्यस्तो भएकोजस्तो लाग्दैन ।

सुरक्षाकर्मी परिचालन, मतदानमा खटिने कर्मचारीको खटनपटनलगायत कार्यमा ठोस प्रगति नदेखिँदा केही अन्योलभने छ । यसलाई चिर्दै अगाडि बढ्नुपर्छ भन्नुहुन्छ । राजनीतिका जानकार टेकबहादुर हमाल पनि चुनावलाई लोकतन्त्र र सङ्घीयतालाई थप बलियो बनाउने माध्यमका रुपमा अथ्र्याउनुहुन्छ । उहाँ भन्नुहुन्छ–बाहिरी रुपमा चुनावको चर्चा भएको छ, तर कतिपयले अझै पनि निर्वाचन हुने विषयमा संशय व्यक्त गरिरहेका छन् । सबै दलहरुलाई विश्वासमा लिएर चुनावी मैदान सुनिश्चितगर्नु नै अहिलेको आवश्यकता हो । निर्वाचन हालसम्मका उपलब्धिलाई थप सुनिश्चितगर्ने आधारका रुपमा लिनुपर्छ । संसद पुनःस्थापना वा निर्वाचन भन्ने बहस संवैधानिक र कानूनी प्रक्रियामा रहे पनि अन्ततः लोकतन्त्रको मेरुदण्ड जनमत नै भएको हमालको भनाइ छ । उहाँ अगाडि भन्नुहुन्छ–संघीय व्यवस्थालाई थप बलियो बनाउन र राजनीतिक निकासका लागि स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन नै निर्विकल्प बाटो हो ।

यसरी छलफलमा सहभागी हुनेमध्ये अधिकांशले लोकतन्त्रमा निर्वाचनका मुख्य सरोकार भएकाहरु राजनीतिक दलनै भएकाले सरकारले संशयका घेराहरु तोड्दै चुनावी प्रक्रियामा सामेल गराउनुपर्नेमा जोड दिन्छन् । धेरैले भन्ने गर्छन् सरकारले दलहरुलाई विश्वासमा लिँदै चुनावको वातावरण बनाउने र दलले आमनागरिकलाई परिवर्तनको आक्यांक्षा पूरागर्ने बाचासहित मतदानका लागि तयारगर्न अग्रसर हुनुपर्छ । योनै अहिलेको आवश्यकता हो । देशमा उत्पन्न वर्तमान परिस्थितिको निकास पनि यही हो । रासस