काठमाडौं, ९ माघ । निर्वाचनअगावै राजमार्गका खाल्डाखुल्डी मर्मतगर्न माग भएको छ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारीगरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभएको छ ।

महासंघले नारायणगढ–बुटवल सडकखण्ड, नौबिसे–मुग्लिन सडकखण्ड, बिपी राजमार्गलगायत देशभरिका सडक हालसम्म पनि सडक साँघुरो र खाल्डाखुल्डी भएकाले देशभर सार्वजनिक सवारीसाधन सञ्चालनगर्न आमव्यवसायीलाई असहज भएको जनाएको छ । निर्वाचनका समयमा आमयात्रु तथा मतदातालाई गन्तव्य स्थानसम्म पुग्न अत्यधिक समय लाग्ने गरेकाले सार्वजनिक सवारीसाधन सहज रुपमा आवतजावत गर्न सकिने व्यवस्था मिलाउन महासंघले अनुरोध गरेको हो ।