काठमाडौं,१० माघ । गृह मन्त्रालयको शाखा अधिकृत हुँभनी नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्यांक लिन खोज्ने नक्कली अधिकृतलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले उक्त व्यक्तिलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको जानकारी दिनुभएको छ । नक्कली परिचयपत्र देखाउने व्यक्ति तनहुँका कृष जिसी रहेका छन् । आफूलाई सक्कली अधिकृतको परिचय दिन उनी निजामती पोशाकमै आएका थिए । परिचयकोक्रममा निजले आफू ब्याट–३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका थिए ।

उहाँकाअनुसार विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचयपत्र देखाइ काठमाडौंको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाइएको बुझिन्छ । एक महिलाले होटलका व्यवसायीलाई ठगीगरेर फरार भएकाले होटलका बाउन्सरले गृहका तीनै नक्कली अधिकृतसँग पैसा असूली गरिदिन सहयोग मागेका थिए । नक्कली अधिकृत उक्त होटलका बाउन्सरलाई लिएर अध्यागमन विभागमा आएका थिए । उनले यसरी ठगीगर्ने महिलाको वैदेशिक भ्रमण रोक्कागरी अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाएका थिए । विभागमा उपस्थित भएपछि उक्त महिलाको नाम देखाएर निजको राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए । उनले निजलाई कालोसूचीमा राखिदिनसमेत अनुरोध गरेका थिए । नक्कली अधिकृतले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचयपत्रसमेत लिएको खुलेको छ ।

अध्यागमन विभागको इन्टेलीजेन्स र प्रशासन शाखामा सम्पर्क गरेका निजको परिचयपत्रमा कर्मचारी संकेत नं अस्वाभाविक देखिएको थियो । निजसँग आएका होटलका बाउन्सरलाईभने अध्यागमन विभागले सामान्य सोधपुछ गरेर छाडेको प्रवक्ता ढकालले बताउनुभएको छ । रासस