काठमाडौैं, १४ माघ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कड्याइँका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले माग गरेका छन् । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना गरेको निजी क्षेत्रका छाता संस्थाहरुसँगको अन्तक्र्रियामा सहभागी वक्ताहरुले निर्वाचन आचारसंहिता पालना भएमात्र स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा निर्वाचन हुने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निर्वाचन आचारसंहिताको पूर्णपालना गराउन अनुगमनमा कड्याइँ गर्नुपर्ने र आचारसंहिता उल्लंघन भएको पाइएमा तत्काल कारबाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको थियो । उद्योग क्षेत्रलाई व्यवस्थित निष्पक्ष र लगानीमैत्री बनाउन स्पष्ट सीमा र पारदर्शी लेखा प्रणाली आवश्यक भएको उहाँको विचार थियो । निर्वाचन आचारसंहिता पालना र मतदाता शिक्षाको लागि उद्योग क्षेत्रबाट आवश्यक सहयोगगर्न आफूहरु तयार रहेको पनि अध्यक्ष अग्रवालले जानकारी गराउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभयो । निर्वाचन सम्पन्न गराएर स्थिर सरकार बनाउन आवश्यक रहेको उहाँको धारणा थियो । निर्वाचनमा उम्मेदवारहरुले खर्च विवरण लिँदा पारदर्शी रुपमा बैंकबाटै कारोबारगर्ने व्यवस्था राम्रो भएकाले त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि उहाँले माग गर्नुभयो । उद्योग वाणिज्य महासंघको केन्द्र र सबै शाखाहरुबाट पनि निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा प्रचारप्रसार गरेर निर्वाचन सम्पन्न गराउन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता वरिष्ठ उपाध्यक्ष श्रेष्ठको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले निर्वाचन आचारसंहिता कड्याइँका साथ लागू गर्नुपर्नेमा जोडदिँदै मतदाता शिक्षामा आयोगले अझ ध्यानदिनुपर्ने सुझाव दिनुभएको थियो । त्यसका लागि आयोगलाई आवश्यक सहयोगगर्न आफूहरु पनि तयार रहेको उहाँले बताउनुभयो । बदलिँदो परिस्थितिमा निर्वाचन हुन्छ हुँदैनभन्ने अन्योलबीच निर्वाचन हुन्छभन्ने वातावरण आयोगले बनाएकोमा उहाँले खुसी व्यक्त गर्नुभएको थियो ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले निर्वाचनको समयमा हवाई तथा स्थलमार्गबाट नेपाल भित्रने पर्यटकलाई होटल तथा गन्तव्यसम्म पुग्नका लागि सहज वातावरण बनाउनेगरी सहयोगगर्न आयोगलाई आग्रह गर्नुभयो । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि अन्तरराष्ट्रिय जगत्मा नै नेपालमा शान्ति पूर्णरुपमा निर्वाचन हुन सक्दैनभन्ने भ्रम रहेको भन्दै उहाँले त्यस्तो किसिमका भ्रमलाई गलत सावित गर्नको लागि पनि निर्वाचनको समयमा आउने पर्यटकको उचित व्यवस्थापन आवश्यक रहेको र त्यसतर्फ आयोगले पनि आवश्यक सहयोगगर्न आग्रह गर्नुभयो । निर्वाचनको समयमा आवश्यक सहयोग र समन्वयगर्न आफूहरु तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो । रेष्टुराँ तथा बार एशोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष संघर्ष विष्टले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विषयमा आयोगलाई आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताउनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले निर्वाचनको समयमा नेपाल आउने पर्यटकलाई व्यवस्थापनगर्न निर्वाचन आयोगले सहजीकरण गर्नुपर्ने बताउनुभएको थियो । निर्वाचनसम्बन्धी सकारात्मक सूचना विश्व बजारमा पु¥याउन पर्यटन व्यवस्थापन आवश्यक भएको उहाँले सुनाउनुभयो । निर्वाचन आचारसंहिता पालनामा संस्थाको फेसबुक एवं वेबसाइटमार्फत सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग भएको र समुदायलाई असर हुनेगरी ध्वनि प्रदूषण भएको विषयप्रति आयोगको ध्यानाकर्षण गराउनुभयो ।

साथै निर्वाचन आचारसंहिता पालनालगायत निर्वाचनसँग सम्बन्धित विषयमा सम्पूर्ण जिल्ला कार्यालय र वेबसाइटमार्फत सहयोगगर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो । नेपाल उद्योग परिसंघका महानिर्देशक घनश्याम ओझाले सातै प्रदेश र जिल्लामा निर्वाचन आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोगलाई सहयोगगर्ने प्रतिबद्धता जनाउनुभयो । महिला उद्यमी महासंघका मल्लिका श्रेष्ठले मतपत्रको नमूना निकाल्न राजनीतिक दललाईदिँदा राजनीतिक दलहरुले आफ्नो निर्वाचन चिह्नमा छाप लगाएको मतपत्र मतदातासमक्ष देखाउने गरेको जसको कारण केही मतदाता अन्योलमासमेत पर्नेगरेकाले आयोगले नै मतपत्रको नमूना निकाल्नुपर्ने सुझाव दिनुभयो । निर्वाचनको समयमा महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रयोगगर्न आग्रह गर्नुभएको थियो । उहाँले महिलाहरुको लागि निर्वाचनसम्बन्धी चेतनामूलक कार्यक्रम आवश्यक रहेको पनि बताउनुभयो । सो अवसरमा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचनको तयारी र हालसम्म भए गरेका कामका बारेमा प्रस्तुति गर्नुभएको थियो । रासस