काठमाडौं १४ माघ । एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले गत भदौको २३ को घटनाकाबारेमा नयाँ खुलाशा गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारीगर्दै उहाँले उपरोक्त खुलाशा गर्नुभएको हो । सो सन्देशमा उहाँले आफूले नागरिकमाथि गोली चलाउने आदेश नदिएको र त्यस्तो आदेश दिने संवैधानिक अधिकारसमेत प्रधानमन्त्रीलाई नभएको बताउनु छ । उहाँले हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र दिन सोच्न पनि सक्दिन भन्नुभएको छ । अध्यक्ष ओलीले काठमाडौंको माइतीघरमा भएको प्रदर्शन शुरुमा शान्तिपूर्ण रहेको तर पछि घुसपैठिया तत्वहरुले भीडलाई उत्तेजित बनाएको बताउनु भएको छ । उहाँले आयोजकहरुले बारम्बार आग्रह गर्दागर्दै पनि केही समूहले योजनाबद्ध रुपमा बालबालिका र बिद्यालयको पोशाकमा रहेका बिद्यार्थीलाई अगाडि सारेर निषेधित क्षेत्र (संसद् भवन)तर्फ लगेको दाबी गर्नुभएको छ ।
उहाँले संसद भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानूनले आन्दोलन होइन राज्यविरुद्धको हमला मान्छ । संसद भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो । सुरक्षाकर्मीले सरकारको आदेशमा होइन, कानूनको सपथअनुसार काम गरेका हुन् भन्नुभएको छ । उहाँले त्यस दिनको घटनामा ज्यान गुमाएका १९ जनाप्रति श्रद्धाञ्जली व्यक्तगर्दै सो घटनाको संवेदनशीलतालाई बुझेर तत्कालै पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको उल्लेख गर्नुभएको छ । उहाँले १९ जना नानी–बाबुको मृत्युको पीडा आफूसँग अझै रहेको भन्दै मर्माहत भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले आफ्नो राजीनामापछि पनि गत भदौ २४ गते सिंहदरवार, राष्ट्रपति भवन र सर्वोच्च अदालतजस्ता राष्ट्रिय धरोहरहरु जलाइएकोभन्दै ती घटनाहरुको उद्देश्य देशलाई हिंसा र अराजकतामा धकेल्ने रहेको बताउनुभएको छ ।
उहाँले यदि त्यसदिन सुरक्षाकर्मीले हतियार खोसिन दिएको भए वा संसद भवन जलेको भए के स्थिति सामान्य रहन्थ्यो ? भन्ने प्रश्न पनि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा फैलाइएका भ्रमको पछिनलाग्न सबैलाई आग्रहगर्दै शान्तिपूर्ण प्रदर्शनलाई संसद भवनजस्तो संवेदनशील ठाउँतर्फ कसले, किन र कसरी पु¥यायोभन्ने प्रश्नको जवाफ खोज्नसमेत आह्वान गर्नुभएको छ ।