काठमाडौं, १५ माघ । काठमाडौंसहित देशका बिभिन्न स्थानमा बर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली विकासहुँदा काठमाडौं उपत्यकासहित देशभरको मौसम बदलीभई ठाउँठाउँमका वर्षा र हिमपात भएको छ । हिजो काठमाडौं उपत्यकामा पनि वर्षा भएको थियो । काठमाडौंमा २.२, ललितपुर र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । यो झण्डै भारी वर्षाको नजिक हो । यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ । बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।

बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा वर्षा भएको र ती जिल्लाका १०० जति वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिसिमटरबीचमा वर्षा भएको पनि विभागको अभिलेखमा उल्लेख छ । यो हल्कादेखि मध्यमसम्म वर्षा हो । प्रणाली विस्तारै पूर्वतर्फ सर्दैगएको जानकारीदिँदै मौसमविद् वरुण पौडेलले तराई र कोशीमाभने कमनै वर्षा हुने देखिएको बताउनुभएको छ । गण्डकी प्रदेश र बागमती प्रदेशका जिल्लामा बढी वर्षा भएको छ । चिसो केही दिन रहने जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । भोलि बिहीबार तराई भूभागका धेरै स्थानमा हुस्सु÷कुहिरो रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् पौडेलले बताउनुभएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक,दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।