
तस्वीर रासस
काठमाडौं,१७ माघ । बिभिन्न स्थानमा हिउँ पन्छाउन पनि प्रहरी परिचालन गरिएको थाहाभएको छ । राससका अनुसार मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं. गुल्मका सशस्त्र प्रहरी सुरक्षाकर्मीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा थुप्रिएको हिउँ पन्छाएका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरमा थुप्रिएको हिउँ पन्छाएको हो । गत मंगलबार रातिको भारी हिमपातले वारागुङ मुक्ति क्षेत्र–१ स्थित मन्दिर परिसर बाक्लो हिउँले सेताम्मे भएको थियो । भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने रेलिङसहितको सिँढी बाटोमा पूरै हिउँ जमेका कारण मुक्तिनाथका दर्शनार्थीहरुलाई निकै असहज पु¥याएको थियो ।
मुक्तिनाथ मन्दिरमा बाक्लो हिउँ जमेर बसेको र यसले दर्शनार्थीको दर्शन र स्नानगर्ने कार्यमा बाधा पुगेकाले सशस्त्र प्रहरीले मुक्तिनाथमा पुगेर हिउँ पन्छ्याइएको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर र मन्दिरसम्म जाने सिँढी बाटोमा दुई फिटसम्म हिउँ जमेर बसेकाले सशस्त्र प्रहरीको टोली खटिएर मुक्तिनाथको हिउँ सफा गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभउको छ । मुक्तिनाथ जाने सडक र मन्दिर परिसरमा बाक्लो हिउँ थुप्रिएर बस्दा दर्शनार्थीहरु चिप्लिएरु लड्ने र दुर्घटना हुने जोखिम रहेकोमा सशस्त्र प्रहरी टोली हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनार्थीहरुलाई निकै सहज तुल्याएको व्यवस्थापक भुसालले बताउनुभयो ।
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने रेलिङ मार्ग, मन्दिर परिसर, स्नानकुण्ड र १०८ धारालगायत स्थानमा जमेको हिउँ पन्छाएको हो । यसअघि भारी हिमपातका कारण अवरुद्ध बनेको कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छएपछि शुक्रबार बिहानदेखि यातायात आवागमन सञ्चालनमा आएको छ । अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छाउन कोरला सडक आयोजनाको डोजर परिचालितगरी जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिहरु मिलेर अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।