काठमाडौं, १८ माघ । स्वदेशवादी राज्यव्यवस्था निर्माणगर्ने उद्देश्यसहित स्वदेशवादी अभियानको घोषणा गरिएको छ । स्वदेशीय सनातन ज्ञानसत्ताको पुनर्जागरणमार्फत स्वदेशवादी राज्यव्यवस्था निर्माणगर्ने उद्देश्यसहित ‘स्वदेशवादी अभियान’ घोषणा गरिएको हो । अभियानका क्रममा आगामी दिनमा ‘पशुपति संवाद’ तथा देशव्यापी संवाद पदयात्रामार्फत जनतासँग संवादगर्दै अभियान विस्तार गरिने जनाइएको छ । एक समारोहबीच रैथाने, वैदिक र बौद्ध ज्ञान परम्पराको एकीकरणगर्दै आयातित राजनीतिक र वैचारिक परनिर्भरताबाट नेपाललाई मुक्तगर्ने लक्ष्यसहित अभियान घोषणा गरिएको हो । घोषणासभामा नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका प्रमुख डा वासुदेव कृष्ण शास्त्रीले महर्षि याज्ञवल्क्यले स्थापना गर्नुभएको राजनीतिक गुरुकुल तीन हजार वर्षअघि बन्द भए पनि हाल त्यसको निरन्तरताका रुपमा पुनः अभियान अगाडि बढाइएको बताउनुभएको थियो ।

उहाँले सनातन प्रज्ञाको जगमै दीर्घकालीन राजनीतिक स्थायित्व र सुशासन सम्भव हुने धारणा व्यक्त गर्नुभएको थियो । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक सौरभले स्वदेशवादी अभियानलाई आजकै दिनदेखि मूल राजनीतिक मुद्धा बनाएर देशव्यापी रुपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । हालका राजनीतिक दलहरु वैचारिकरुपमा दिशाहीन बनेको अवस्थामा स्वदेशीय राजनीतिक चिन्तन नै राष्ट्रको निकास भएको उहाँको भनाइ थियो । कार्यक्रममा अभियानका संयोजक सूर्य माखिमले अवधारणा पत्र प्रस्तुतगर्दै नेपाली समाज गहिरो दार्शनिक, नैतिक र राजनीतिक संक्रमणमा रहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले स्वदेशीय सनातन ज्ञानसत्तामा आधारित स्वशासन, स्वराज, स्वनिर्भर अर्थतन्त्र र राष्ट्रिय सार्वभौमिकता अभियानका मूल आधार भएको बताउनु भएको थियो । अभियानले देशभित्र बढ्दो निराशा, युवा पलायन, परनिर्भर अर्थतन्त्र र कमजोर कूटनीतिक अवस्थालाई गम्भीर चुनौतीकारुपमा चित्रणगर्दै समाधानका लागि जनजागरण, वैचारिक दीक्षा र राष्ट्रिय राजनीतिक गुरुकुलमार्फत नेतृत्व विकासगर्ने विश्वास गरिएको छ ।