काठमाडौं, २० माघ । काठमाडौं उपत्यकामा ग्याँसको कृत्रिम अभाव बनाउने प्रयास भैरहेको थाहाभएको छ । यसैक्रममा नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको जनाएको छ । निगमले एक प्रेस विज्ञप्ति जारीगर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरणगर्न निर्देशन दिएको जनाएको छ । इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमको भनाई छ । त्यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो । सो परिणाम जाडोयामको माग धान्न पुग्ने ग्यास भएको निगमले जनाएको छ ।
हाल केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभएको छ । बजारमा एलपी ग्याँसको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्यनजरगरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उहाँले जानकारी दिनुभयो । आवश्यकताअनुसार मात्र ग्यासको खरिदगर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्नसमेत निगमले भनेको छ ।