काठमाडौं, २० माघ । नेपालमा निपाह भाइरसबाट सतर्क रहनुपर्ने अवस्था रहेको बताइएको छ । छिमेकी देशमा देखिएको निपाह भाइरसका संक्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । एक विज्ञप्ति जारीगर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजरगर्दै पूर्वतयारीका कदमस्वरुप देशभरका स्वास्थ्य संस्था तथा निकायहरुलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको जनाएको छ । विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिण–पूर्वी एशिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरे पनि मन्त्रालयले सतर्क रहन आग्रह गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालय नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रुपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदमहरु चालिरहेको जानकारी गराउनुभयो ।

उहाँले सबैलाई नआत्तिन तर सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गर्नुभएको छ । प्रवक्ता बुढाथोकीले आत्तिनुपर्ने अवस्था छैन, तर सतर्क रहनुपर्छ । त्यसैले सबैले फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन आवश्यक छ । जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पन्जा र मास्क प्रयोग गर्ने, बेला–बेलामा साबुनपानीले हात धुने तथा भीडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्छ भन्नुभयो ।

प्रवक्ता डा बुढाथोकीले कुनै शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्कगर्न आग्रह गर्नुभएको छ । चिकित्सककाअनुसार निपाह भाइरस संक्रमित चमेराको ¥याल, पिसाब वा मलमूत्रले दूषित भएको फलफूल सेवन गर्दा संक्रमण हुनसक्छ । साथै संक्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेराबाट सुँगुरहुँदै पनि मानिसमा संक्रमण सर्न सक्ने डा बुढाथोकीले बताउनुभएको छ । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउनेजस्ता शंकास्पद लक्षण देखिएमा बिरामीको शीघ्र पहिचान, आइसोलेसन, रिपोर्टिङ तथा संक्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालनागर्न गराउन पनि स्वास्थ्य मन्त्रालयले सबैसँग अनुरोध गरेको छ ।