काठमाडौं, २० माघ । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा चुनावी घोषणापत्र प्रकाशनगर्न कठीनाई परेको थाहाभएको छ । बिभिन्न २१ वटा भन्दा बढी समूहबाट फुटेर आएकाहरुबाट बनेको सो पार्टीमा आन्तरिक बिवाद चर्किएपछि घोषणापत्र तयारीगर्न ढिलाई भएको बताइन्छ । यसैबीच सो पार्टीको निर्वाचन परिचालन समितिको सचिवालय बैठकले छिट्टै चुनावी घोषणापत्र प्रकाशनगर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा हिजो बसेको बैठकले नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्र सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित बिभिन्न निर्णय गरेको बताइएको छ । बैठकमा संयोजक दाहालले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा र निर्वाचन परिचालन समितिका सचिवालय सदस्यले निर्वाचन तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे जानकारी गराउनुभएको पार्टी सचिवालयले जनाएको छ ।
बैठकबाट निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि साप्कोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ । बैठकले निर्वाचनका लागि अपिल छिट्टै प्रकाशितगर्ने र निर्वाचन परिचालन कमिटीको बैठक आगामी पर्सी २२ गते बोलाउने निर्णय गरेको पनि सचिवालयले जनाएको छ ।
निर्वाचनमा प्रचारप्रसारलाई प्रभावकारी बनाउन अग्नि सापकोटाको नेतृत्वमा जगन्नाथ खतिवडा, गोविन्द आचार्य रहेको केन्द्रीय प्रचार समिति गठन गरिएको र उक्त समितिले अन्य पक्षसँग परामर्शगरी प्रचार कार्यलाई व्यवस्थित रुपमा अघिबढाउने निर्णय गरिएको जनाइएको छ ।