काठमाडौं, २० माघ । आगामी फागुन ३० मा गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ सम्मेलन हुनेभएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा महाधिवेशन आगामी फागुन ३० देखि चैत दुई गतेसम्म सम्मेलन तय भएको जनाइएको छ ।
‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुने उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको र समितिको सचिवालयका रुपमा संघको सचिवालयले काम शुरुगरेको जानकारी दिइएको थियो । ‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा शुरु भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्ने उद्देश्यका साथ अघिबढिरहेको पनि जनाइएको छ ।
विज्ञप्तिमा संघको १० औँ र ११ औँ महाधिवेशनपछि संस्थाभित्र देखिएका संगठनात्मक जटिलताहरुलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्धरुपमा सम्बोधनगर्दै अन्ततः सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहितको उपस्थितिमा गैरआवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको तथ्य विदितै छ । यो उपलब्धिले संघको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ भनिएको छ ।