काठमाडौं, २० माघ । भारतमा नेपाली नक्कली नोट छाप्ने कारखाना फेला परेको थाहा भएको छ । प्राप्त समाचारअनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ)ले गरेको संयुक्त कारबाहीमा उक्त कारखाना फेलापरेको हो । भारतमा नक्कली नोट छपाईगरी नेपालमा पठाउने कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ समेत गरेको छ । छापा मार्नेक्रममा प्रहरीले २५ लाख नेपाली नक्कली नोट, एकलाख ४० हजार सक्कली नेपाली रुपैयाँ, एकहजार ८५० नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेशिन, नोट विशेष सादा २२ बण्डल कागज, रसायन लगायतका सामग्री बरामद गरेको बिहार प्रहरीले जनाएको छ । नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीनवटा मोटरसाइकल र कार पनि बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर विस्तृत सोधपुछ भइरहेको र गिरोहका अन्य सदस्य र मुख्य योजनाकारको पहिचान खुल्ने काम भइरहेको भारतीय सुरक्षा श्रोतले जनाएको छ । अभियुक्तहरुको नामभने अझै सार्वजनिक गरिएको छैन । उक्त गिरोहले निर्वाचनको समयमा नेपालमा नक्कली नोट तस्करीगर्ने र बजारमा बिक्रीगर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय प्रहरीको दाबि छ । भारतीय प्रहरीले नक्कली नोटको कारोबारलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामा गम्भीर खतरा भएकाले घटनालाई उच्च प्राथमिकता दिएको बताइएको छ ।