काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चितगर्न माग गर्नुभएको छ । एमालेको ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधनगर्दै उहाँले उपरोक्त माग गर्नुभएको हो । उहाँले त्यसक्रममा चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले जिल्लाको विकासगर्ने र जनताको समस्या बुझ्ने युवा नेत्री अस्मिता थापालाई उम्मेवार बनाएकाले मतदातासँग उहाँलाई मत दिन आग्रह गर्नुभएको थियो । उम्मेदवार थापाले ओखलढुंगाका जनताले दिएको मत गलत कार्यमा प्रयोग नगर्नेभन्दै सकारात्मक कामगरेर असल छोरी र असल जनप्रतिनिधिकारुपमा प्रमाणितगर्ने दाबी गर्नुभएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवार पाउँदा ओखलढुंगामा ठूलो उत्साह आएको धारणा राख्नुभएको थियो ।