
काठमाडौं, १९ माघ । आगामी फागुन २१ मा हुने भनिएको निर्वाचनका लागि देशभरबाट डेढ लाख निर्वाचन प्रहरी छनोट गरिएको छभने अधिकांश जिल्लाहरुमा तालिम शुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी मातहत एक लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बल (एपिएफ) अन्तर्गत १५ हजार ११० गरी कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छनोट भएका छन् । छनोट भएकालाई हिजो आइतबारदेखि सम्बन्धित युनिटमार्फत १० दिने आधारभूत सुरक्षा तालिम दिन थालिएको छ । तालिम शुरुभएकै दिनबाट ४० दिनको कार्यविधि गणना हुनेछ । तालिमअन्तर्गत शिष्टाचार (जय नेपाल), शारीरिक पोजिसन, सर्वसाधारणसँगको व्यवहार, राजनीतिक निष्पक्षता, आचारसंहिता पालना र फिल्डमा जिम्मेवारी निर्वाहजस्ता विषय समेटिएका छन् । तालिमपछि उनीहरुलाई नियमित प्रहरी तथा सशस्त्र प्रहरीसँगै फिल्डमा खटाइनेछ ।
प्रत्येक निर्वाचन प्रहरी आफ्नो टोली प्रमुख र कमाण्डरप्रति पूर्ण जवाफदेही हुने व्यवस्था गरिएको छ । पुस २५ देखि माघ ३ सम्म दरखास्त आह्वान गरिएकोमा करिब दुई लाख आवेदन परेका थिए । १८ देखि ५४ वर्ष उमेर समूहका आवेदकमध्येबाट छनोट गरिएकालाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानसरह आधारभूत तलब, रासन, पोसाक र अन्य सुविधा उपलब्ध गराइएको छ । कार्यविधिअनुसार एक निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्लाअनुसार रासन भत्ता, एकपटकका लागि ८४६ रुपैयाँ यातायात खर्च, चार दिनका लागि दैनिक तीन सयका दरले १२ सय रुपैयाँ खाजा खर्च तथा पोशाक भत्ता प्रदान गरिएको छ ।
कर्तव्य पालनकाक्रममा घाइते वा मृत्युभएमा तोकिएअनुसार क्षतिपूर्तिको व्यवस्था गरिएको छ । तर, तोकिएको स्थानमा गैरहाजिर भएमा वा जिम्मेवारी पूरा नगरेमा सुविधा नदिइने मापदण्डमा उल्लेख गरिएको छ ।